सुर्खेत । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–५, नयाँडाँडामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

कात्तिक २३ गते दिउँसो करिब १२ बजे थापागाउँबाट नयाँडाँडातर्फ आउँदै गरेको भे.१ च ३११२ नम्बरको डबल क्याब जीप ब्याक गर्ने क्रममा अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खसेको थियो।

दुर्घटनामा आठबिसकोट नगरपालिका–५ का १० वर्षीय हरिबहादुर थापा र २९ वर्षीय लक्ष्मीराम थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। जीप आठबिसकोट नगरपालिका–४ का २५ वर्षीय प्रदीप विकले चलाएका थिए।

दुर्घटनामा १९ वर्षीया जुना कुमारी थापा, ३५ वर्षीय वीरबहादुर थापा, २३ वर्षीया सीता थापा, २३ वर्षीया जुनि थापा, आठ वर्षीय युवराज थापा र चार वर्षीया विरता थापा गम्भीर घाइते भएका छन्। वीरबहादुर जीपका धनीसमेत हुन्।

त्यस्तै, २५ वर्षीया हिरा थापा र दुई वर्षीय गौरव थापा मध्यम घाइते भएका छन्। २३ वर्षीया सुशिला थापा एरी, २८ वर्षीया भावना थापा एरी, २७ वर्षीया खिममाया थापा, २० वर्षीया रमिता एरी र १९ वर्षीया निर्मला एरी सामान्य घाइते भएका छन्।

सामान्य र मध्यम अवस्थाका ६ जना घाइतेलाई दिउँसो १ः२० बजे उपचारका लागि नगर अस्पताल राडी पठाइएको प्रहरीले जनाएको छ। अन्य घाइतेलाई पनि उपचारका लागि पठाउने पहल भइरहेको छ।

दुर्घटनापछि चालक प्रदीप विक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनामा परेको जीप भने घटनास्थलमै रहेको छ।

घटनास्थलमा प्रहरी चौकी गोतामकोटबाट प्रहरी सहायक निरीक्षक बुद्धिराम वलीको कमाण्डमा चार जना र इलाका प्रहरी कार्यालय आठबिसकोटबाट प्रहरी निरीक्षक विजय चपागाईँको कमाण्डमा सात जना प्रहरी परिचालन भएका छन्।

प्रकाशित मिति: २३ कार्तिक २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com