काठमाडौं। जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको आठमहिने कार्यकालप्रति प्रश्न उठाउँदै चुनावअघि गरिएका प्रतिबद्धताअनुसार काम हुन नसकेको आरोप लगाएका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै राउतले बालेनले काठमाडौँ महानगरपालिकाको मेयर बन्नुअघि र प्रधानमन्त्री बन्नुअघि गरेका प्रतिबद्धता तथा अहिलेको कार्यशैलीबीच ठूलो अन्तर देखिएको टिप्पणी गरेका हुन्।
दुईतिहाइ बहुमतको समर्थनसहित सरकार सञ्चालन गर्ने अवसर पाए पनि आठ महिनामा उल्लेखनीय उपलब्धि हासिल गर्न नसकेको उनको आरोप छ। काठमाडौँको धुलो नियन्त्रण, फोहोरबाट विद्युत् उत्पादन, सार्वजनिक यातायातमा जीपीएस प्रणाली लागू गर्ने तथा विकास निर्माणका काम अघि बढाउनेजस्ता प्रतिबद्धता पूरा नभएको राउतको दाबी छ।
‘हाम्रो अझै अपेक्षा बालेनले राम्रो गरून् भन्ने हो, तर बालेनले जे–जे बोले, त्यो केही पूरा गरेनन्, बरु ठीक उल्टो गरे,’ राउतले लेखेका छन्, ‘यथार्थमा दुईतिहाइको एकछत्र राज्य हुँदा पनि आठ महिनामा सिन्को भाँच्न सकेनन्, बाँकी त एल्गोरिदम न हुन्।’
राउतले बालेनको कार्यशैलीमाथि प्रश्न उठाउँदै महानगरपालिकाको मेयर हुँदा सडक व्यवसायी तथा गरिब नागरिकलाई बल प्रयोग गरेर हटाइएको र प्रधानमन्त्री भएपछि पनि त्यस्तै प्रवृत्ति दोहोरिएको आरोप लगाएका छन्। सरकारको आलोचना गर्नेहरूमाथि प्रहरी प्रशासन प्रयोग गरिएको तथा शिक्षा, स्वास्थ्य र विद्युत्मा कर लगाएर सर्वसाधारणमाथि आर्थिक भार थपिएको उनको टिप्पणी छ।
त्यस्तै, काठमाडौँ महानगरपालिकाको बजेट खर्च, बेरुजु, विभिन्न संस्थालाई दिइएको आर्थिक सहयोग, विदेश भ्रमण तथा लिफ्ट खरिदलगायतका विषय उठाउँदै उनले आर्थिक पारदर्शितामाथि पनि प्रश्न गरेका छन्।
सरकारले सुशासन र भ्रष्टाचार नियन्त्रणको प्रतिबद्धताअनुसार काम गर्न नसकेको आरोप लगाउँदै राउतले मन्त्री, सांसद तथा सरकारी नियुक्तिमा नातावाद र कृपावाद हाबी भएको दाबी गरेका छन्। पासपोर्ट ठेक्का र सुनकोशी–मरिण आयोजनालगायतका ठेक्का प्रक्रियामा समेत अनियमितता भएको उनको आरोप छ।
संघीयताको विषयमा पनि राउतले सरकारको आलोचना गरेका छन्। बालेन संघीयता विरोधी रहेको र प्रदेश संरचना खारेज गर्ने पक्षमा रहेको दाबी गर्दै उनले प्रदेशलाई थप अधिकार दिनुको सट्टा उल्टै अधिकार कटौती गर्ने काम भइरहेको आरोप लगाएका छन्।
मधेशप्रति सरकारले उपेक्षापूर्ण व्यवहार गरेको, सीमाक्षेत्रमा दमन बढेको तथा मधेशी समुदायमाथि सुरक्षा निकायबाट बल प्रयोग र गोली प्रहारका घटना भइरहेको पनि राउतको आरोप छ।
बालेनले निर्वाचनअघि गरेका प्रतिबद्धता र सरकार सञ्चालनपछि देखिएको कार्यशैलीबीचको अन्तरलाई औँल्याउँदै राउतले सरकारले गरेका कामको मूल्यांकन प्रचार र भ्रमका आधारमा नभई वास्तविक उपलब्धिका आधारमा हुनुपर्ने धारणा राखेका छन्।
प्रकाशित मिति: २ मंसिर २०८३, बुधबार













प्रतिक्रिया