काठमाडौं। नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री बालेन्द्र शाहसँग शिष्टाचार भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमण र नेपाल–भारत सम्बन्धका विविध विषयमा छलफल भएको छ।
भेटका क्रममा प्रधानमन्त्री शाहले राजदूत दलेलालाई नेपालका लागि नियुक्त भएकोमा बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए। साथै, भोटेकोसी–त्रिशूली क्षेत्रमा आएको बाढीपछि भारत सरकारले उपलब्ध गराएको सहयोगप्रति उनले आभार प्रकट गरेका थिए।
प्रधानमन्त्री शाहले आफ्नो आसन्न भारत भ्रमणको तयारीबारे राजदूतसँग जानकारी लिएका थिए। त्यसक्रममा राजदूत दलेलाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने भेटवार्ता ऐतिहासिक र महत्त्वपूर्ण हुने बताएका छन्।
प्रधानमन्त्रीको भारत भ्रमणका एजेन्डा तय भइसकेको जानकारी दिँदै उनले भ्रमणलाई उपलब्धिमूलक बनाउन दुवै देशका सम्बन्धित निकायले तीव्र रूपमा तयारी गरिरहेको बताएका थिए।
भेटवार्तामा नेपाल र भारतबीच रहँदै आएको ऐतिहासिक, सांस्कृतिक तथा भौगोलिक सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा समेत छलफल भएको प्रधानमन्त्री शाहको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री शाह आगामी मंसिर ६ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारतको दुईदिने औपचारिक भ्रमणमा जाने कार्यक्रम छ। प्रधानमन्त्री बनेपछि उनको यो पहिलो छिमेकी मुलुकको औपचारिक भ्रमण हुनेछ।
प्रकाशित मिति: २ मंसिर २०८३, बुधबार













प्रतिक्रिया