काठमाडौं। ललितपुरको नख्खुबाट स्रोत खुलाउन नसकेको १ करोड ६७ लाख रुपैयाँभन्दा बढी नगदसहित तीन जना पक्राउ परेका छन्। वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा अर्का एक जना पनि पक्राउ परेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले नख्खु दोबाटो चोकमा सानेपाबाट सातदोबाटोतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२७ च २७६५ नम्बरको गाडी जाँच गर्ने क्रममा १ करोड ६७ लाख ३३ हजार २३० रुपैयाँ नगद फेला पारेको हो।
नगदसहित पक्राउ पर्नेमा ललितपुरको गोदावरी नगरपालिका–१० चापागाउँका ३२ वर्षीय जयराम केसी, भोजपुर नगरपालिका–३ घर भई काठमाडौंको कोटेश्वर बस्ने ३१ वर्षीय दीपक खड्का र काठमाडौं महानगरपालिका–१० बानेश्वर घर भई बत्तीसपुतली बस्ने २९ वर्षीय प्रज्वल रिजाल रहेका छन्।
पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको प्रहरीले जनाएको छ।
यसैगरी, वैदेशिक रोजगारीका लागि रोमानिया र बेलारुस पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा २८ वर्षीय रवीन्द्र मगराती पक्राउ परेका छन्। ललितपुर महानगरपालिका–२९ निवासी मगरातीले आकर्षक तलबको प्रलोभन देखाएर पाँच जना पीडितबाट ४ लाख २० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको आरोप छ।
उनलाई काठमाडौं महानगरपालिका–२९ बाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: २ मंसिर २०८३, बुधबार













प्रतिक्रिया