काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्कीले दायर गरेको रिटमा सर्वोच्च अदालतमा आगामी सोमबार पुनः सुनुवाइ हुने भएको छ।
सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको इजलासले मंसिर ७ गते अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा छलफल गर्न दुवै पक्षलाई उपस्थित हुन आदेश दिएको हो।
सोमबार हुने सुनुवाइमा रिट निवेदक कार्कीका तर्फबाट बहस गर्ने कानुन व्यवसायी, सरकारको निर्णयको प्रतिरक्षा गर्ने सरकारी वकिल तथा नवनियुक्त प्रहरी महानिरीक्षक डा. मनोज केसीका तर्फबाट उपस्थित हुने कानुन व्यवसायीले आ–आफ्नो पक्ष राख्नेछन्।
यसअघि बुधबार भएको सुनुवाइमा सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको थियो। तत्काल आदेश जारी नगरी दुवै पक्षको तर्क र दाबी सुनेपछि मात्रै अन्तरिम आदेशबारे निर्णय गर्ने भन्दै अदालतले थप छलफलका लागि मिति तोकेको हो।
मन्त्रिपरिषद्को निर्णयबाट दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक पदबाट हटाएर डा. मनोज केसीलाई नयाँ आईजीपी नियुक्त गरिएको थियो।
सरकारको उक्त निर्णय कानुनविपरीत रहेको जिकिर गर्दै कार्कीले सर्वोच्चमा रिट दायर गरेका हुन्। उनले आफूलाई पदबाट हटाउने निर्णय बदर गरी पुनः आईजीपीमा बहाली गर्न र नयाँ नियुक्त आईजीपीलाई कामकाज गर्न रोक लगाउन माग गरेका छन्।
अब सोमबार हुने सुनुवाइपछि कार्कीलाई अन्तरिम राहत दिने वा सरकारको निर्णयलाई तत्काल कार्यान्वयन हुन दिने भन्ने विषयमा सर्वोच्चको धारणा स्पष्ट हुनेछ।

प्रकाशित मिति: २ मंसिर २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com