कालिकोट। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कालिकोटको सान्नी त्रिवेणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको आर्थिक तथा प्रशासनिक जिम्मेवारी खोसेको छ। मन्त्रालयले गाउँपालिकाको बैंक खाता रोक्का गर्नसमेत निर्देशन दिएको छ।
मन्त्रालयको निर्णयअनुसार गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर बुढाथोकीलाई गत भदौ २५ गतेदेखि नै जिम्मेवारीबाट हटाइएको थियो। तर, उक्त निर्णय कार्यान्वयन हुन नसक्दा उनी कार्यालयमा नियमित रूपमा उपस्थित हुँदै आएका थिए।
यसैबीच, मन्त्रालयले सान्नी त्रिवेणी गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा महाबु गाउँपालिकाका उदयराज उपाध्यायलाई सरुवा गरी पठाएको थियो। तर, गाउँपालिकाले नयाँ अधिकृतलाई हाजिर गराउन अस्वीकार गरेको थियो।
पुराना कर्मचारीले कार्यालय नछाड्ने र नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई जिम्मेवारी सम्हाल्न नदिने अवस्था सिर्जना भएपछि मन्त्रालयले थप कदम चालेको हो। मन्त्रालयले बुधबार बुढाथोकीको आर्थिक तथा प्रशासनिक जिम्मेवारी रद्द गर्ने निर्णय गर्दै नयाँ प्रमुख प्रशासकीय अधिकृत उपाध्यायलाई तत्काल कामकाजमा खटिन निर्देशन दिएको छ।
मन्त्रालयले गाउँपालिकाको बैंक खाता रोक्का गरी नयाँ प्रमुख प्रशासकीय अधिकृत उपाध्यायको नामबाट खाता सञ्चालन गर्न आवश्यक व्यवस्था मिलाउन कोष तथा लेखा नियन्त्रक कार्यालय कालिकोटलाई पत्राचार गरेको छ।
सरकारी निर्णय कार्यान्वयनमा कर्मचारी र गाउँपालिकाबीच देखिएको विवादका कारण सान्नी त्रिवेणीको आर्थिक तथा प्रशासनिक कामकाज प्रभावित बनेको छ।

प्रकाशित मिति: २ मंसिर २०८३, बुधबार













प्रतिक्रिया