काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिपत्र नवीकरण नगरेका २० र सरकारी बक्यौता रकम नबुझाएका नौ इन्टरनेट सेवा प्रदायक कम्पनीलाई १५ दिनभित्र कानुनी दायित्व पूरा गर्न निर्देशन दिएको छ।

प्राधिकरणले बिहीबार सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित कम्पनीहरूलाई अनुमतिपत्र नवीकरण गर्न तथा सरकार र प्राधिकरणलाई बुझाउनुपर्ने सम्पूर्ण बक्यौता चुक्ता गर्न भनेको हो। निर्धारित समयभित्र प्रक्रिया पूरा नगरे अनुमतिपत्र खारेजीसहित कानुनी कारबाही अघि बढाइने प्राधिकरणले चेतावनी दिएको छ।

प्राधिकरणका अनुसार अनुमतिपत्र नवीकरण नगर्ने २० सेवा प्रदायकले तोकिएको प्रक्रिया पूरा गरेका छैनन्। यस सूचीमा एलिशा कम्युनिकेसन लिंक, एरोनेट, ब्रोडलिंक नेटवर्क एन्ड कम्युनिकेसन, क्लासिक टेक, कम्युनिकेसन एन्ड कम्युनिकेट नेपाल, एभरेस्ट वायरलेस नेटवर्क, जीआरएस लिंक इन्टरनेट सर्भिस, आई जोन, कालिका नेट र खप्तड नेट रहेका छन्।

त्यस्तै, कनेक्ट नेपाल नेटवर्क, मर्केन्टाइल कम्युनिकेसन, नेक्स्ट गिकर्स, नम्बर नेटवर्क, पोखरा इन्टरनेट, सांग्रिला इन्फर्मेटिक्स, सुपर सितापाइला केबल नेट, टेकमाइन्ड्स नेटवर्क, अल्ट्रानेट कम्युनिकेसन र वेब सर्फर नेपाल कम्युनिकेसन सिस्टमले पनि अनुमतिपत्र नवीकरण नगरेको प्राधिकरणले जनाएको छ।

यी कम्पनीलाई १५ दिनभित्र आवश्यक कागजात तथा प्रक्रिया पूरा गरी अनुमतिपत्र नवीकरण गर्न निर्देशन दिइएको छ। अन्यथा दूरसञ्चार ऐनअनुसार अनुमतिपत्र खारेजीको प्रक्रिया अघि बढाइनेछ।

यसैगरी, सरकारी राजस्व तथा प्राधिकरणलाई बुझाउनुपर्ने बक्यौता रकम बाँकी रहेका नौ कम्पनीलाई पनि १५ दिनभित्र रकम दाखिला गर्न भनिएको छ।

बक्यौता बुझाउनुपर्ने सूचीमा बेनी कम्युनिकेसन्स, ब्रोडब्यान्ड नेपाल, फस्र्टलिंक कम्युनिकेसन्स, क्षिरेश्वर नेटवर्क, लुम्बिनी म्याक्स डिजिटल केबल नेट, मेड इन्फो टेक, प्राइम नेटवर्क, सुबिसु लिमिटेड र युनिफाइड कम्युनिकेसन रहेका छन्।

प्राधिकरणका अनुसार यी कम्पनीले विगतका आर्थिक वर्षदेखि बुझाउनुपर्ने रोयल्टी, ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) मा जम्मा गर्नुपर्ने रकम तथा त्यसमा लाग्ने थप दस्तुर र जरिवानासमेत तिरेका छैनन्।

प्राधिकरणले तोकिएको समयसीमाभित्र बक्यौता नबुझाउने कम्पनीमाथि कानुनबमोजिम कारबाही अघि बढाउने स्पष्ट पारेको छ। यस कदमले दूरसञ्चार क्षेत्रमा नियामकीय दायित्व पूरा नगर्ने सेवा प्रदायकमाथि प्राधिकरणले कडाइ गर्न थालेको संकेत गरेको छ।

प्रकाशित मिति: ३ मंसिर २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com