काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आगामी सुक्खायामको माग धान्न भारतबाट चौबीसै घण्टा १५० मेगावाट विद्युत् आयात गर्ने गरी अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्ने तयारी गरेको छ। यसअघि सबैभन्दा कम दर प्रस्ताव गरेको भारतीय कम्पनीसँग सम्झौता हुन नसकेपछि प्राधिकरणले नयाँ प्रतिस्पर्धात्मक प्रक्रिया अघि बढाउन लागेको हो।
प्राधिकरण सञ्चालक समिति सदस्य अंशु किरण शाहीका अनुसार सन् २०२७ को जनवरीदेखि मेसम्म निरन्तर विद्युत् आपूर्ति हुने गरी भारतका अनुमतिप्राप्त विद्युत् व्यापारिक कम्पनीसँग दर प्रस्ताव माग्ने योजना छ। प्राधिकरणको विद्युत् व्यापार विश्लेषण समितिले २०८३ भदौ २५ गते उक्त अवधिका लागि चौबीसै घण्टा विद्युत् खरिद गर्न व्यवस्थापनलाई सिफारिस गरेको थियो।
आशयपत्र जारी भए पनि सम्झौता भएन
प्राधिकरणले यसअघि तीन भारतीय कम्पनीसँग दर मागेको थियो। एनटीपीसी ट्रेडिङ कर्पोरेसन लिमिटेडले प्रतियुनिट ६ रुपैयाँ ९० पैसा, मनिकरण इनर्जी लिमिटेडले ८ रुपैयाँ ५० पैसा र एसजेभीएन लिमिटेडले ९ रुपैयाँ प्रस्ताव गरेका थिए। तीनै प्रस्ताव भारतीय रुपैयाँमा थिए।
सबैभन्दा कम दर प्रस्ताव गरेको एनटीपीसीलाई प्राधिकरणले सञ्चालक समितिको निर्णयअनुसार असोज १६ गते आशयपत्र जारी गरेको थियो। असोज २९ गते सम्झौताका लागि बोलाइएपछि कम्पनीले असोज ३० गते पत्र पठाएर प्रस्तावित दरमा विद्युत् उपलब्ध गराउन नसक्ने जानकारी दिएको थियो। कम्पनीले इन्धनको मूल्यवृद्धि, भूराजनीतिक अनिश्चितता, एल निनोको प्रभाव र भारतभित्र बढ्दो विद्युत् मागलाई दर पुनरावलोकन गर्नुपर्ने कारणका रूपमा उल्लेख गरेको थियो।
भारतीय विद्युत् बजारको ‘डे अहेड मार्केट’मा २०८३ असोजको औसत बजार समायोजन मूल्य प्रतियुनिट ७ रुपैयाँ ३४ पैसा भारतीय रुपैयाँ थियो। यो नेपाली रुपैयाँमा ११ रुपैयाँ ७४ पैसा बराबर हो।
नयाँ आयोजनाबाट सुक्खायाममा ९० मेगावाट उत्पादन हुने अनुमान
आन्तरिक उत्पादनले माग धान्न नसक्दा प्राधिकरणले पछिल्ला दुई-तीन वर्षदेखि सुक्खायाममा भारतीय विद्युत् एक्सचेन्जको ‘डे अहेड’ र ‘रियल टाइम’ बजारबाट विद्युत् खरिद गर्दै आएको छ। यस वर्ष भोटेकोशीमा आएको हिमबाढीले सञ्चालनमा रहेका र निर्माणाधीन गरी करिब ४३० मेगावाट क्षमताका आयोजना प्रभावित भएपछि आपूर्ति व्यवस्थापन थप चुनौतीपूर्ण बनेको छ।
आगामी सुक्खायामसम्म करिब ३०० मेगावाट क्षमताका नयाँ आयोजना राष्ट्रिय प्रणालीमा जोडिने अपेक्षा छ। नदीको बहाव घट्ने भएकाले ती आयोजनाबाट सुक्खायाममा करिब ९० मेगावाट मात्रै उत्पादन हुने अनुमान गरिएको छ।
विद्युत् व्यापार विश्लेषण समितिले आवश्यक परे भारतीय विद्युत् एक्सचेन्जबाट थप विद्युत् किन्न पनि सिफारिस गरेको छ। अप्रिल र मेमा माग बढ्ने अनुमान भएकाले थप खरिदको निर्णय त्यतिबेलाको आन्तरिक आपूर्ति, माग र भारतीय बजारमा उपलब्ध विद्युत् हेरेर गर्नुपर्ने समितिको निष्कर्ष छ।
प्रकाशित मिति: ३ मंसिर २०८३, बिहिबार













प्रतिक्रिया