काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को आसन्न भारत भ्रमणको विस्तृत कार्यतालिका परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको छ। दुईदिने भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मु र प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नेछन् भने दुई देशबीचको आर्थिक तथा विकास साझेदारीलाई थप मजबुत बनाउने विषयमा छलफल हुनेछ।

भारतीय प्रधानमन्त्री मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री शाह मंसिर ६ र ७ गते भारतको राजकीय भ्रमणमा जान लागेका हुन्। मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी भ्रमणको कार्यसूची सार्वजनिक गरेको हो।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्रीको नेतृत्वमा ३४ सदस्यीय सरकारी प्रतिनिधिमण्डल भारत जानेछ। यसबाहेक निजी क्षेत्रका ५२ जना व्यवसायी पनि भ्रमणमा सहभागी हुनेछन्। व्यवसायीहरूले आफ्नो भ्रमण खर्च आफैँ व्यहोर्ने मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्री शाह मंसिर ६ गते दिउँसो १ः४५ बजे नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत नयाँ दिल्ली प्रस्थान गर्ने कार्यक्रम छ। भ्रमण टोलीमा परराष्ट्रमन्त्री शिशिर खनाल, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलगायत उच्चपदस्थ सरकारी अधिकारी तथा नयाँ दिल्लीस्थित नेपाली दूतावासका प्रतिनिधि सहभागी हुनेछन्।

नयाँ दिल्ली पुगेपछि प्रधानमन्त्री शाहले महात्मा गान्धीको समाधिस्थल राजघाटमा पुगेर श्रद्धाञ्जली अर्पण गर्नेछन्। त्यसपछि भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। भारतीय विदेशमन्त्री डा. एस जयशंकरले पनि प्रधानमन्त्री शाहसँग भेटवार्ता गर्नेछन्।

भ्रमणको दोस्रो दिन मंसिर ७ गते प्रधानमन्त्री शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीच प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता हुनेछ। उक्त वार्तामा व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल र पूर्वाधार विकासलगायतका विषयले प्राथमिकता पाउने परराष्ट्र मन्त्रालयले जनाएको छ।

त्यसैगरी शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन तथा मानव संसाधन विकासका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा पनि छलफल हुनेछ। यी क्षेत्रसँग सम्बन्धित विभिन्न समझदारीपत्र आदानप्रदान गर्ने तयारीसमेत गरिएको छ।

भ्रमणका क्रममा नेपाल–भारत ऊर्जा सहकार्य र सम्पर्क सञ्जाल विस्तारसँग सम्बन्धित सम्पन्न परियोजनाहरूको उद्घाटन तथा नयाँ परियोजनाहरूको शिलान्यास गर्ने कार्यक्रम पनि तय भएको छ।

द्विपक्षीय वार्तापछि दुवै देशका प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलनमार्फत छलफलका विषय र उपलब्धिबारे जानकारी दिनेछन्। त्यसपछि प्रधानमन्त्री शाह भारतीय समकक्षी मोदीले आयोजना गर्ने औपचारिक दिवाभोजमा सहभागी हुनेछन्।

नेपालमा भारतीय लगानी भित्र्याउने तथा दुवै देशका निजी क्षेत्रबीच व्यावसायिक साझेदारी बढाउने उद्देश्यले भ्रमणका क्रममा नेपाल–भारत बिजनेस फोरम पनि आयोजना हुनेछ। फोरममा दुवै देशका व्यवसायीले लगानी, व्यापार र सहकार्यका सम्भावनाबारे छलफल गर्नेछन्।

परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको भ्रमणले नेपाल र भारतबीच लामो समयदेखि कायम मैत्रीपूर्ण सम्बन्धलाई थप उचाइमा पुर्‍याउनुका साथै आर्थिक तथा विकास साझेदारी विस्तारमा योगदान गर्ने अपेक्षा गरेको छ। भ्रमणबाट दुवै देशका नागरिकले प्रत्यक्ष अनुभूति गर्न सक्ने ठोस उपलब्धि हासिल हुने विश्वास पनि मन्त्रालयले व्यक्त गरेको छ।

दुईदिने भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाह मंसिर ७ गते साँझ ६ः३५ बजे नेपाल वायुसेवा निगमकै नियमित उडानबाट स्वदेश फर्कने कार्यक्रम छ। स्वदेश आगमनपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गरी भ्रमणका उपलब्धिबारे जानकारी गराइनेछ।

प्रकाशित मिति: ४ मंसिर २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com