बागलुङ । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीभित्र देखिएको विवादमा सर्वोच्च अदालतबाट न्याय पाउने विश्वास व्यक्त गरेका छन्। विभिन्न हल्ला र चर्चाका बाबजुद अदालतले कांग्रेसका कार्यकर्ताको भावना र अपेक्षाअनुसार निर्णय दिने उनको विश्वास छ।

देउवा पक्षीय कांग्रेसको महाधिवेशनअन्तर्गत शुक्रबार आयोजित बागलुङ जिल्ला अधिवेशन उद्घाटन गर्न बागलुङ पुगेका देउवाले पार्टीको आन्तरिक विवादबारे यस्तो धारणा राखेका हुन्।

सम्बोधनका क्रममा उनले नेपाली कांग्रेसले विगतमा पूर्वराजा ज्ञानेन्द्रको निरंकुशताविरुद्ध संघर्ष गरेको स्मरण गर्दै मुलुकमा आइपर्ने जुनसुकै चुनौती सामना गर्न पार्टी सक्षम रहेको बताए। आफू जीवित रहुन्जेल लोकतन्त्र र गणतन्त्रको संरक्षणका लागि सक्रिय रहने प्रतिबद्धता पनि उनले व्यक्त गरे।

देउवाले आगामी स्थानीय तह निर्वाचनमा कांग्रेसलाई बहुमत दिलाउन पार्टीका नेता तथा कार्यकर्तालाई एकताबद्ध भएर संगठन विस्तारमा लाग्न आग्रह गरे। देश र जनताको सेवामा आफ्नो जीवन समर्पित गर्दै आएको उल्लेख गर्दै उनले आगामी दिनमा पनि लोकतान्त्रिक व्यवस्थाको रक्षाका लागि निरन्तर सक्रिय रहने बताए।

‘मेरो जीवन देश र जनतालाई दिँदै आएको छु, अझै पनि लोकतन्त्र र गणतन्त्रको रक्षामा समर्पित गर्छु,’ उनले भने, ‘सबै कार्यकर्ताले कांग्रेसको संगठन बढाएर आगामी निर्वाचन जित्ने वातावरण बनाउनुहोला।’

पार्टीभित्र आपसी विवाद र विभाजनभन्दा एकता कायम गरेर अघि बढ्नुपर्नेमा जोड दिँदै उनले कांग्रेस एकढिक्का भए कुनै पनि शक्तिले पराजित गर्न नसक्ने दाबी गरे।

कांग्रेसको संगठन विस्तार र सुदृढीकरणमा बागलुङ जिल्लाले पुर्‍याएको योगदानको प्रशंसा गर्दै देउवाले पार्टीको इतिहास र लोकतान्त्रिक आन्दोलनमा जिल्लाको भूमिकाको चर्चा गरे। सहिद थिरबम मल्लको योगदान स्मरण गर्दै उनले कांग्रेसको संगठन र लोकतान्त्रिक मूल्यको संरक्षणमा बागलुङका नेता तथा कार्यकर्ताले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्ने बताए।

‘सहिद थिरबम मल्लले योगदान गरेको कांग्रेस बचाउने जिम्मा लिने जिल्ला बागलुङ हो,’ उनले भने, ‘कांग्रेसका कार्यकर्ताहरू विचलित नभई देशको हितमा लागौँ।’

हेलिकोप्टरमार्फत बागलुङ पुगेका देउवा अधिवेशनस्थलमा करिब दुई घण्टा बसेका थिए। यद्यपि, उनले कार्यक्रममा करिब चार मिनेट मात्रै सम्बोधन गरेका थिए।

उक्त जिल्ला अधिवेशनबाट नयाँ जिल्ला नेतृत्व चयन गरिने निर्वाचन संयोजक सागर छन्त्यालले जानकारी दिएका छन्।

प्रकाशित मिति: ४ मंसिर २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com