काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) विरुद्ध आक्रामक अभिव्यक्ति दिँदै उनलाई सिंहदरबारबाट घिसारेर माइतीघर ल्याउने चेतावनी दिएका छन्। एमालेको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई ‘महान् नेता’ भन्दै बालेनमाथि भ्रष्टाचार र विवादित व्यक्तिलाई संरक्षण गरेको आरोपसमेत लगाए।
बस्नेतले प्रधानमन्त्री बालेनलाई भ्रष्टाचारीको संज्ञा दिँदै ओली भने देशका महान् नेता भएको दाबी गरे। उनले बालेनले इनाम सापकोटालाई संरक्षण गरेको आरोप लगाउँदै सरकारको कार्यशैलीप्रति आक्रोश व्यक्त गरे।
उनले एमालेका नेता तथा कार्यकर्ताले अब बालेनविरुद्ध सडकमा उत्रिने संकेत गर्दै सिंहदरबारबाट माइतीघर ल्याउने चेतावनी दिए। ‘अब हामी बालेनलाई सिंहदरबारबाट घिसारेर माइतीघर ल्याउँछौँ,’ उनको भनाइ थियो।
बस्नेतले सुकुम्बासीका विषयमा सरकारको कदमप्रति असन्तुष्टि जनाउँदै एमालेका सुकुम्बासी नेता तथा कार्यकर्ताले बंगलादेशमा जस्तै आन्दोलन गरेर बालेनलाई सत्ताबाट हटाउने दाबीसमेत गरे।
‘अब सुकुम्बासी एमाले नेता–कार्यकर्ताले बंगलादेशमा जस्तै गर्छन्, तिमीलाई सत्ताबाट निकाल्छन्,’ उनले चेतावनीपूर्ण शैलीमा भने। प्रधानमन्त्रीलाई लक्षित गर्दै उनले ‘तिमी खहरेको भेल हौ’ भन्दै राजनीतिक नेतृत्व र सत्ता स्थायित्वबारे व्यंग्यसमेत गरे।
बस्नेतको अभिव्यक्तिले एमाले र वर्तमान सरकारबीचको राजनीतिक टकरावलाई थप चर्चामा ल्याएको छ। विशेषगरी प्रधानमन्त्रीलाई सत्ताबाट हटाउने र सिंहदरबारबाट माइतीघर घिसारेर ल्याउने जस्ता अभिव्यक्तिले राजनीतिक असहमति व्यक्त गर्ने शैली, नेताहरूको भाषिक मर्यादा र सडक आन्दोलनको सीमाबारे बहस निम्त्याउन सक्छ।
सरकारको कामकारबाहीप्रति असहमति जनाउने र राजनीतिक विरोध गर्ने अधिकार लोकतान्त्रिक व्यवस्थाको हिस्सा भए पनि नेताहरूबाट आउने यस्ता अभिव्यक्तिले राजनीतिक संवादलाई कस्तो दिशामा लैजान्छ भन्ने प्रश्न पनि उठेको छ।
प्रकाशित मिति: ५ मंसिर २०८३, शनिबार













प्रतिक्रिया