काठमाडौं । प्रधानमन्त्रीको भारत भ्रमणका लागि तयार पारिएको प्रतिनिधिमण्डलमा नेपालबाट भारततर्फ निर्यात हुने प्रमुख वस्तुका उत्पादक तथा व्यवसायीको प्रतिनिधित्व नगराइएकोप्रति निजी क्षेत्रले असन्तुष्टि व्यक्त गरेको छ।
नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) र निर्यात व्यवसायी महासंघ नेपाल (FEEN) लगायतका संस्थाले निर्यातमुखी उद्योग तथा व्यवसायीको प्रतिनिधित्व सुनिश्चित गर्न सिफारिस गरे पनि सम्बन्धित क्षेत्रका प्रतिनिधि भ्रमण टोलीमा समावेश हुन नसकेका हुन्।
नेपालबाट भारतसहित अन्तर्राष्ट्रिय बजारमा निर्यात हुँदै आएका मूल्य अभिवृद्धियुक्त वस्तुहरूमा फलाम तथा स्टिल, प्लाइउड, सिमेन्ट, भेनियर, चिया, अलैँची, अदुवा, रुद्राक्षलगायतका उत्पादन प्रमुख छन्। तर, यी वस्तुको उत्पादन तथा निर्यातमा संलग्न उद्योगी व्यवसायीका प्रतिनिधिलाई भ्रमण टोलीमा स्थान दिइएको छैन।
करिब ५२ जनाको जम्बो प्रतिनिधिमण्डल तयार पार्दा पनि देशको निर्यात प्रवर्द्धनमा प्रत्यक्ष योगदान पुर्याउँदै आएका उद्योगी तथा व्यवसायीलाई समेट्न नसक्नु विडम्बनापूर्ण भएको निजी क्षेत्रको बुझाइ छ। सरकार, विशेषगरी परराष्ट्र मन्त्रालयसँग विभिन्न क्षेत्रका प्रतिनिधिको पहुँच र सम्बन्ध रहे पनि निर्यातमुखी उद्योगको प्रतिनिधित्व सुनिश्चित हुन नसकेको भन्दै प्रश्न उठाइएको छ।
भारत नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो। यस्तो अवस्थामा प्रधानमन्त्रीको भारत भ्रमणलाई दुई देशबीचको व्यापार विस्तार, नेपाली उत्पादनको बजार पहुँच वृद्धि, गैरभन्सार अवरोध न्यूनीकरण, द्विपक्षीय व्यापार असन्तुलन घटाउने तथा नयाँ निर्यात सम्भावनाको खोजी गर्ने महत्वपूर्ण अवसरका रूपमा उपयोग गर्न सकिन्थ्यो।
तर, उत्पादन र निर्यात प्रवर्द्धनमा प्रत्यक्ष भूमिका निर्वाह गर्दै आएको निजी क्षेत्रलाई नै भ्रमण टोलीमा उचित स्थान नदिनुले सरकारको आर्थिक कूटनीति र निर्यात प्रवर्द्धनप्रतिको प्राथमिकतामाथि प्रश्न उठाएको छ।
प्रधानमन्त्रीको विदेश भ्रमण औपचारिक कूटनीतिक भेटघाटमा मात्र सीमित हुनुहुँदैन। यस्ता भ्रमणलाई देशको उत्पादन, उद्योग, लगानी र निर्यात विस्तारसँग जोड्न आवश्यक छ। त्यसका लागि निर्यातमुखी उद्योगी व्यवसायीको अर्थपूर्ण सहभागिता र उनीहरूका व्यावसायिक मुद्दालाई द्विपक्षीय छलफलको एजेन्डामा समेट्नु अपरिहार्य देखिन्छ।
प्रकाशित मिति: ५ मंसिर २०८३, शनिबार













प्रतिक्रिया