काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसहितका कम्युनिस्ट दलसँग आगामी स्थानीय तह र प्रदेश निर्वाचनमा सहकार्य गरेर जाने नीतिगत निर्णय भइसकेको बताएका छन्।
सोमबार गोरखाको बाह्रकिलोमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले एमाले, नेकपा मशाललगायतका कम्युनिस्ट शक्तिसँग सदन र सडक दुवै मोर्चामा सहकार्य गर्ने सहमति भएको जानकारी दिए।
उनका अनुसार आगामी स्थानीय र प्रदेश निर्वाचनमा पनि कम्युनिस्ट दलहरू मिलेर प्रतिस्पर्धा गर्ने समझदारी बनेको छ। उनले चुनावी सहकार्यमा मात्र सीमित नभई कम्युनिस्ट पार्टीहरूबीच एकता गरेर एउटै राजनीतिक केन्द्र निर्माण गर्नुपर्नेमा जोड दिए।
कम्युनिस्ट आन्दोलनको रक्षा, राष्ट्रिय स्वाधीनताको संरक्षण र समाजवादको लक्ष्य प्राप्तिका लागि सबै कम्युनिस्ट शक्ति एक ठाउँमा आउनुपर्ने उनको भनाइ थियो।
प्रचण्डले विभिन्न कम्युनिस्ट दल तथा समूहसँग एकता र सहकार्यका लागि भइरहेको छलफल सकारात्मक दिशामा अघि बढेको पनि बताए। केही दिनअघि उमा भुजेलको नेतृत्वमा विप्लव समूहका बहुमत जिल्ला तथा नेताहरू सहभागी समूहसँग पार्टी एकता गरिएको उनले जानकारी दिए।
एमालेका नेताहरूसँग पनि निरन्तर संवाद भइरहेको उल्लेख गर्दै उनले अध्यक्ष केपी शर्मा ओलीलाई सहकार्यको आवश्यकता बुझाउन भने सहज नभएको बताए। यद्यपि, कम्युनिस्ट शक्तिबीच एकता र सहकार्यको प्रयास जारी रहने उनको भनाइ थियो।
यसैगरी, प्रचण्डले नेपाली कांग्रेस र मधेसकेन्द्रित दलहरूसँग पनि राजनीतिक संवाद भइरहेको बताए। कांग्रेसका नेता गगन थापा, शेरबहादुर देउवा तथा मधेसकेन्द्रित दलका नेताहरूसँग संविधान र संघीयताको रक्षाका लागि साझा मोर्चा बनाएर अघि बढ्ने विषयमा छलफल भइरहेको उनले जानकारी दिए।
प्रकाशित मिति: ७ मंसिर २०८३, सोमबार













प्रतिक्रिया