काठमाडौं । सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसीका नाममा जारी भएको म्याद प्रहरी प्रधान कार्यालयका तर्फबाट उपस्थित कानुन व्यवसायीमार्फत तामेल गर्न आदेश दिएको छ।

निवर्तमान आईजीपी दानबहादुर कार्कीले दायर गरेको रिटमाथि सोमबार सुनुवाइ गर्दै सर्वोच्चले यस्तो आदेश दिएको हो। अदालतका तामेलदार म्याद बुझाउन प्रहरी प्रधान कार्यालय पुग्दा कार्यालयले बुझ्न अस्वीकार गरेपछि अदालतले कानुन व्यवसायीमार्फत म्याद तामेल गर्ने विकल्प अपनाएको हो।

न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले मंसिर ४ गते जारी भएको म्याद प्रहरी प्रधान कार्यालयलाई प्रतिनिधित्व गर्ने अधिवक्तामार्फत बुझाएर नियमानुसार अदालतमा पेस गर्न निर्देशन दिएको छ।

म्याद बुझ्न प्रहरी प्रधान कार्यालयको अस्वीकार

सर्वोच्च अदालतले गत मंसिर ४ गते आईजीपी डा. केसीका नाममा म्याद जारी गरेको थियो। उक्त म्याद बुझाउन अदालतका तामेलदार प्रहरी प्रधान कार्यालय पुग्दा सम्बन्धित व्यक्ति बैठकमा रहेको भन्दै कार्यालयका कर्मचारीले उनलाई पर्खाएका थिए।

कार्यालय समय सकिँदासम्म पनि केसी उपस्थित नभएपछि म्याद बुझाउन नसकिएको भन्दै तामेलदारले अदालतमा प्रतिवेदन बुझाएका थिए। प्रहरी प्रधान कार्यालयले समेत म्याद बुझ्न अस्वीकार गरेको प्रतिवेदनमा उल्लेख थियो।

सोमबारको सुनुवाइमा प्रहरी प्रधान कार्यालयका तर्फबाट उपस्थित अधिवक्ताले प्राविधिक कारणले यसअघि म्याद बुझ्न नसकिएको स्वीकार गर्दै पुनः जारी हुने म्याद नबुझी नफर्काउने प्रतिबद्धता जनाएका थिए। त्यसपछि इजलासले अधिवक्तामार्फत म्याद तामेल गर्न आदेश दिएको हो।

अदालतले मुद्दालाई प्राथमिकतामा राख्दै आगामी मंसिर ९ गते बुधबारका लागि अर्को पेसी तोकेको छ। उक्त मितिको जानकारी महान्यायाधिवक्ताको कार्यालयलाई समेत गराउन आदेश दिइएको छ।

 

प्रकाशित मिति: ७ मंसिर २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com