काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको भारतको राजकीय भ्रमणका क्रममा नेपाल र भारतबीच आठवटा महत्त्वपूर्ण क्षेत्रमा सहकार्य गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री शाहको उपस्थितिमा सुरक्षा, शिक्षा, प्रशासन, स्वास्थ्य, कृषि, सञ्चार, अन्तरिक्ष प्रविधि तथा सहरी विकासलगायतका क्षेत्रमा सहकार्य गर्ने सहमति भएको हो।
दुई देशबीच विशेषगरी सुरक्षा संयन्त्रको आधुनिकीकरण र अपराध अनुसन्धानलाई वैज्ञानिक तथा प्रविधिमैत्री बनाउने उद्देश्यले दुईवटा समझदारी भएका छन्।
यसअन्तर्गत भारतको गुजरातस्थित राष्ट्रिय फरेन्सिक विज्ञान विश्वविद्यालय र नेपाल प्रहरीको अपराध अनुसन्धान विभागबीच शैक्षिक तथा अनुसन्धान सहकार्य गर्ने सम्झौता भएको छ। यसले नेपालको अपराध अनुसन्धान प्रणालीलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
त्यस्तै, भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय र नेपालको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानबीच प्रहरी तथा सुरक्षा जनशक्तिको तालिम र क्षमता अभिवृद्धिका लागि अर्को समझदारी भएको छ।
सार्वजनिक प्रशासनलाई प्रभावकारी र जनउत्तरदायी बनाउने उद्देश्यले निजामती कर्मचारीको क्षमता विकाससम्बन्धी सम्झौतासमेत भएको छ। भारतको राष्ट्रिय सुशासन केन्द्र र नेपालको प्रशासनिक प्रशिक्षण प्रतिष्ठानबीच कर्मचारीको क्षमता अभिवृद्धि तथा तालिम कार्यक्रम सञ्चालन गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको हो।
स्वास्थ्य क्षेत्रको विकास र चिकित्सा सेवाको विस्तारका लागि पनि दुई देशबीच सहकार्य गर्ने सहमति भएको छ। आधुनिक स्वास्थ्य सेवामा सहकार्य गर्न भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय र नेपालको स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयबीच समझदारी भएको छ।
यसैगरी, आयुर्वेद तथा अन्य परम्परागत चिकित्सा पद्धतिको संरक्षण, अनुसन्धान र प्रवर्द्धनका लागि छुट्टै समझदारीपत्रमा हस्ताक्षर गरिएको छ।
कृषि क्षेत्रअन्तर्गत पशुपालन तथा मत्स्यपालनको विकास र उत्पादकत्व वृद्धि गर्न नेपाल र भारतबीच सहकार्य गर्ने सम्झौता भएको छ। यसबाट कृषि तथा ग्रामीण अर्थतन्त्रको विकासमा योगदान पुग्ने अपेक्षा गरिएको छ।
प्रविधि तथा सञ्चार क्षेत्रको सहकार्यलाई विस्तार गर्दै दक्षिण एसिया स्याटेलाइटको प्रभावकारी उपयोगका लागि स्याटेलाइट सञ्चार सञ्जाल स्थापना गर्ने समझदारी पनि भएको छ। यससम्बन्धी सम्झौतामा भारतको भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) र नेपालको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबीच हस्ताक्षर भएको हो।
त्यस्तै, बढ्दो सहरीकरणबाट उत्पन्न चुनौतीलाई सम्बोधन गर्दै व्यवस्थित र दिगो सहर निर्माणका लागि प्राविधिक सहकार्य गर्ने विषयमा पनि दुई देशबीच समझदारी भएको छ।
यी समझदारीले नेपाल–भारतबीच सुरक्षा, प्रविधि, स्वास्थ्य, प्रशासन र आर्थिक विकासका क्षेत्रमा द्विपक्षीय सहकार्य थप विस्तार हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: ७ मंसिर २०८३, सोमबार












प्रतिक्रिया