काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को भारत भ्रमणका क्रममा घोषणा भएको २ खर्ब ४० अर्ब रुपैयाँ बराबरको आर्थिक सहयोग प्याकेजबारे स्पष्ट पारेका छन् । उनका अनुसार उक्त प्याकेजमा ५६ अर्ब रुपैयाँ अनुदान र १ खर्ब ८४ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण (लाइन अफ क्रेडिट) समावेश छ ।
मंगलबार प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले ऋण सुविधाअन्तर्गत भारतीय रुपैयाँ (भारु) मै रकम लिएर भारुमै भुक्तानी गर्न सकिने नयाँ विकल्प उपलब्ध भएको जानकारी दिए ।
उनले १ खर्ब ८४ अर्ब रुपैयाँ बराबरको ऋण एकैपटक लिएर खर्च गर्ने योजना नभएको स्पष्ट पारे । यो सुविधा विकास आयोजना निर्माणका क्रममा आवश्यक पर्ने वित्तीय स्रोतको सुनिश्चितताका लागि व्यवस्था गरिएको उनको भनाइ छ ।
‘हामीले काम गर्दै र निर्माण कार्य अगाडि बढाउँदै जाने हो भने वित्तीय स्रोतको अभाव नहोस् भन्ने प्रत्याभूति हो यो,’ उनले भने ।
विगतमा सडक पूर्वाधारका आयोजनामा स्थानीय सामग्री प्रयोगसम्बन्धी सर्तका कारण लाइन अफ क्रेडिटको उपयोगमा विभिन्न जटिलता देखिएको अर्थमन्त्री वाग्लेले स्मरण गरे । त्यस्ता प्रावधानका कारण भारतीय ठेकेदारले समेत भारतीय विदेश मन्त्रालयमा उजुरी गर्नुपर्ने अवस्था आएको उनको भनाइ थियो ।
यद्यपि, ऊर्जा तथा प्रसारण लाइन निर्माणलगायतका क्षेत्रमा भने यस्तो ऋण सुविधा प्रभावकारी देखिएको उनले बताए ।
नेपालको दीर्घकालीन ऊर्जा क्षेत्रको आवश्यकता १०० अर्ब अमेरिकी डलरभन्दा बढी रहेको उल्लेख गर्दै वाग्लेले ऊर्जा मन्त्रालयको आग्रहअनुसार तत्काल आवश्यक पर्दा उपयोग गर्न सकिने गरी एक अर्ब अमेरिकी डलर बराबरको ऋण सुविधा सुनिश्चित गरिएको जानकारी दिए ।
भारुमा ऋण लिँदा विनिमय दरको जोखिम हट्ने दाबी
अर्थमन्त्री वाग्लेले नयाँ ऋण सुविधामा भारतीय रुपैयाँ प्रयोग गर्न सकिने व्यवस्थालाई महत्त्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गरेका छन् । उनका अनुसार विगतमा अमेरिकी डलरमा ऋण लिँदा डलरको मूल्य बढेसँगै नेपालको ऋण दायित्वसमेत उल्लेख्य रूपमा बढ्ने गरेको थियो ।
डलरको मूल्य ५० रुपैयाँबाट बढेर १५० रुपैयाँसम्म पुग्दा ऋणको भार पनि बढेको उदाहरण दिँदै उनले नेपाली रुपैयाँसँग स्थिर विनिमय दर रहेको भारतीय मुद्रामा ऋण लिने र त्यही मुद्रामा भुक्तानी गर्ने विकल्पले विनिमय दरको जोखिम हटाउने बताए ।
उनले डलरमा १.५ देखि २.५ प्रतिशत ब्याजदरमा ऋण लिँदा विनिमय दरमा हुने उतारचढावको जोखिम पनि व्यहोर्नुपर्ने तर भारुमा मुद्रास्फीतिको हाराहारीमा ब्याजदर कायम हुँदा त्यस्तो जोखिम कम हुने तुलना गरे ।
नेपालले डलर वा भारु कुन मुद्रामा ऋण लिने भन्ने विकल्प खुला रहेको पनि उनले स्पष्ट पारे । ब्याजदर, ऋण भुक्तानी अवधि, ग्रेस पिरियड र मुद्राको छनोटलगायतका विषय प्राविधिक वार्ताबाट टुंगो लाग्ने उनको भनाइ छ ।
नेपालकै आग्रहमा गत डिसेम्बरदेखि यस विषयमा वार्ता अघि बढेको र भारतले यसपटक भारुमा समेत कारोबार गर्न सकिने व्यवस्था स्वीकार गरेको वाग्लेले बताए । उनले यसलाई नेपालको हितमा भएको विशेष उपलब्धिका रूपमा उल्लेख गरे ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत नेपाललाई यसअघि यति ठूलो आर्थिक सहयोग प्याकेज उपलब्ध नगराइएको उल्लेख गर्दै घोषणा गरेको जानकारी दिँदै अर्थमन्त्री वाग्लेले नेपाल सरकारका तर्फबाट भारत सरकारप्रति आभार व्यक्त गरिएको बताए ।
ऋणको ब्याजदर र भुक्तानी अवधिबारे सांसदको चासो
समिति बैठकमा एमाले सांसद डा. पुष्पराज कँडेलले १ खर्ब ८४ अर्ब रुपैयाँ बराबरको ऋण सुविधा कति वर्षका लागि उपलब्ध हुने र त्यसको ब्याजदर कति रहने भन्ने विषयमा प्रश्न उठाएका थिए ।
त्यस्तै, नेपाली कांग्रेसका सांसदले उक्त ऋण भारतीय मुद्रामै लिनुपर्ने र भुक्तानी पनि भारतीय मुद्रामै गर्नुपर्ने हो कि होइन भन्नेबारे जिज्ञासा राखेका थिए ।
नेपालले आयात भुक्तानीका लागि हरेक वर्ष अमेरिकी डलर साटेर भारतीय रुपैयाँ खरिद गर्नुपर्ने अवस्थालाई उल्लेख गर्दै उनले भारुमा ऋण लिँदा भुक्तानी व्यवस्थापनमा सहजता वा चुनौती के हुन सक्छ भन्नेबारे स्पष्ट पार्न माग गरेका थिए ।
अर्थमन्त्री वाग्लेले भने ऋणको वास्तविक सर्त, ब्याजदर र भुक्तानी प्रक्रियाबारे अन्तिम निर्णय प्राविधिक वार्ताबाट हुने स्पष्ट पारेका छन् ।
प्रकाशित मिति: ८ मंसिर २०८३, मंगलबार













प्रतिक्रिया