काठमाडौं । लायन्स क्लब अफ काठमाडौं रञ्जना ब्रदर्शको आयोजनामा जडिबुटीस्थित जागृति एकेडेमीमा अन्तर्राष्ट्रिय शान्ति पोस्टर प्रतियोगिता सम्पन्न भएको छ । लायन्स इन्टरनेसनलको वार्षिक कार्यक्रमअन्तर्गत ‘मानवतामा सद्भाव’  विषयमा आयोजित चित्रकला प्रतियोगितामा हज्रा वानु प्रथम भएकी छन् ।

११ देखि १३ वर्ष उमेर समूहका विद्यार्थीको सिर्जनशीलता अभिवृद्धि गर्नुका साथै शान्ति, मानवता र आपसी सद्भावको सन्देश प्रवाह गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतियोगितामा सहभागी विद्यार्थीले आफ्ना चित्रमार्फत मानवता, सहिष्णुता, विविधताबीचको एकता, आपसी सम्मान र विश्वशान्तिको महत्त्व प्रस्तुत गरेका थिए ।

प्रतियोगितामा हज्रा वानु प्रथम, पुष्कर फुयाँल द्वितीय र विसन खुलाल तृतीय भएका छन् । उत्कृष्ट तीन स्थान हासिल गर्ने विद्यार्थीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा सहभागी अन्य विद्यार्थीलाई समेत आयोजकले प्रमाणपत्र तथा पुरस्कार प्रदान गरेको जनाएको छ ।

लायन्स इन्टरनेसनलका अन्तर्राष्ट्रिय अध्यक्ष लायन मार्क एस. लायनले लायन वर्ष २०२६–२०२७ का लागि  ‘मानवतामा सद्भाव’ भन्ने मूल विषय अघि सारेका छन् । त्यसैगरी, लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ आईका डिष्ट्रिक्ट गभर्नर लायन सूर्यकुमार केसीले यस वर्षका लागि ‘बाँडेर सेवा गर्ने भावना’ भन्ने नारा तय गरेका छन् ।

यी अभियानको मर्मअनुसार बालबालिकामा शान्ति, सहकार्य, सद्भाव र मानवीय सेवाको भावना विकास गर्न प्रतियोगिताले योगदान पुर्‍याउने विश्वास आयोजकले व्यक्त गरेका छन् ।

कार्यक्रममा लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ आईका पिस पोस्टर संयोजक लायन धिरज श्रेष्ठ, रिजन चेयरपर्सन लायन नरेन्द्रबहादुर विश्वकर्मा, डिष्ट्रिक्ट चिफ लायन रामकुमार तिमल्सिना, लायन्स क्लब अफ काठमाडौं रञ्जना ब्रदर्शका संस्थापक अध्यक्ष लायन हरिकृष्ण दाहाल, संस्थापक उपाध्यक्ष लायन रामकुमार श्रेष्ठ तथा क्लबका सदस्यहरू गोपाल अछामी र विनम रणपहेलीलगायतको उपस्थिति थियो ।

त्यस्तै, जागृति एकेडेमीका संस्थापक ओमकृष्ण श्रेष्ठ, प्राचार्य राजन श्रेष्ठ, कला शिक्षक अरिमा लिम्बु र अतिरिक्त क्रियाकलाप संयोजक कला प्रधानलगायत कार्यक्रममा सहभागी थिए ।

कार्यक्रममा विद्यालयले शैक्षिक गतिविधिसँगै विद्यार्थीको सर्वाङ्गीण विकास, सिर्जनशीलता र प्रतिभा प्रस्फुटनलाई प्राथमिकता दिँदै आएको विषयमा समेत चर्चा गरिएको थियो । पाठ्यपुस्तकमा आधारित शिक्षासँगै कला, संस्कृति, व्यावहारिक ज्ञान र अतिरिक्त क्रियाकलापलाई महत्त्व दिँदै आएको विद्यालयले यस्ता प्रतियोगितालाई विद्यार्थीको क्षमता पहिचान र विकास गर्ने अवसरका रूपमा लिएको छ ।

लायन्स इन्टरनेसनलले विश्वभर सञ्चालन गर्दै आएको शान्ति पोस्टर प्रतियोगितामा ११ देखि १३ वर्ष उमेर समूहका बालबालिकाले सहभागिता जनाउन पाउँछन् । चित्रकलामार्फत शान्तिको महत्त्व बुझाउने, सहिष्णुता र अन्तर्राष्ट्रिय समझदारी अभिवृद्धि गर्ने तथा बालबालिकालाई विश्वशान्तिको सन्देशवाहक बनाउने उद्देश्य प्रतियोगिताको रहेको छ । प्रतियोगितामा मौलिकता, कलात्मक प्रस्तुति र विषयवस्तुको सान्दर्भिकतालाई मूल्याङ्कनको आधार बनाइन्छ ।

सामाजिक सेवा, मानवीय सहयोग, शिक्षा, स्वास्थ्य तथा वातावरण संरक्षणका क्षेत्रमा सक्रिय लायन्स क्लब अफ काठमाडौं रञ्जना ब्रदर्शले सामुदायिक विकासका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

क्लबले भोटेकोसी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकलाई राहत उपलब्ध गराउन सिक्किम सरकारसँग समन्वय गरी सहयोगसमेत गरेको थियो । विपद्का समयमा मानवीय सेवाको भावना र अन्तर्राष्ट्रिय सहकार्यलाई प्राथमिकता दिँदै पीडित समुदायलाई राहत पुर्‍याइएको क्लबले जनाएको छ ।

त्यसैगरी, वृक्षरोपण, वातावरण संरक्षण, शिक्षा, स्वास्थ्य तथा विपद् व्यवस्थापनका क्षेत्रमा पनि क्लबले विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ । लायन्स इन्टरनेसनलको ‘We Serve’ भन्ने मूल भावनालाई आत्मसात् गर्दै सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिइरहेको क्लबले जनाएको छ ।

बालबालिकाको प्रतिभा प्रोत्साहन, शान्ति र सद्भावको प्रवर्द्धन तथा मानवीय सेवाका गतिविधिलाई आगामी दिनमा पनि निरन्तरता दिने आयोजकले प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रकाशित मिति: ८ मंसिर २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com