बेइजिङ । चीनले आफ्नो अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्रीका रूपमा पाकिस्तानी नागरिकलाई सहभागी गराउने भएको छ । चीनले बुधबार प्रक्षेपण गर्ने तयारी गरेको शेन्झाउ–२४ अन्तरिक्ष यानको तीन सदस्यीय चालक दलमा एक पाकिस्तानी अन्तरिक्ष यात्रीलाई समावेश गरेको हो ।
चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार ४० वर्षीय पाकिस्तानी अन्तरिक्ष यात्री मुहम्मद जिशान अलीले चिनियाँ अन्तरिक्ष यात्री ताङ होङ्बो (५१) र वु यी (३९) सँगै अन्तरिक्ष यात्रा गर्नेछन् । उनीहरू उत्तरपश्चिम चीनस्थित जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट अन्तरिक्षतर्फ प्रस्थान गर्नेछन् ।
चिनियाँ सञ्चारमाध्यम सीसीटीभीका अनुसार अलीले उक्त मिसनमा पेलोड विशेषज्ञका रूपमा सहभागिता जनाउनेछन् । छोटो अवधिको यस यात्रामा उनले जैवप्रविधि र सामग्री विज्ञानसँग सम्बन्धित चारवटा वैज्ञानिक परियोजनामा काम गर्नेछन् ।
चीन र पाकिस्तानबीचको सहकार्यमा सञ्चालन हुने अनुसन्धानमा प्रकाश संश्लेषण गर्ने सूक्ष्मजीवसम्बन्धी अध्ययनसमेत समावेश गरिएको छ । अली शेन्झाउ–२३ अन्तरिक्ष यानमार्फत पृथ्वीमा फर्किने कार्यक्रम रहेको जनाइएको छ ।
चीनको मानव अन्तरिक्ष कार्यक्रमअन्तर्गत चिनियाँ र विदेशी अन्तरिक्ष यात्री संयुक्त रूपमा सहभागी हुन लागेको यो पहिलो मिसन हो । सन् २०२५ फेब्रुअरीमा चीन र पाकिस्तानबीच भएको अन्तरिक्ष सहकार्यसम्बन्धी सम्झौताअनुसार यो अभियान अघि बढाइएको हो ।
मिसनमा सहभागी चिनियाँ अन्तरिक्ष यात्री ताङ होङ्बो यसअघि दुईपटक अन्तरिक्ष यात्रा गरिसकेका छन् । यसपटकको यात्रासँगै उनी तेस्रोपटक चीनको तियाङगोङ अन्तरिक्ष स्टेसन पुग्ने पहिलो अन्तरिक्ष यात्री बन्ने सीसीटीभीले जनाएको छ ।
यसैबीच, चीनले सन् २०३० सम्ममा चन्द्रमामा पहिलो मानव अवतरण गराउने लक्ष्य राखेको छ । यता अमेरिकाले पनि सन् २०२८ मा आफ्ना अन्तरिक्ष यात्रीलाई चन्द्रमाको सतहमा अवतरण गराउने योजना अघि बढाएको छ ।
प्रकाशित मिति: ८ मंसिर २०८३, मंगलबार













प्रतिक्रिया