काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारको आलोचना गर्ने राजनीतिक दल र नेताहरूलाई दबाबमा पार्न राज्यका अनुसन्धान तथा सुरक्षा संयन्त्रको दुरुपयोग नगर्न चेतावनी दिएका छन्। सरकारका गलत काममाथि प्रश्न उठाएकै आधारमा कसैलाई प्रतिशोध साँध्ने वा तर्साउने प्रयास स्वीकार्य नहुने उनको भनाइ छ।

मंगलबार बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै थापाले सरकारको आलोचना गरेपछि आफूलाई पक्राउ गर्ने हल्ला फैलाइएको बताए। तर यस्ता धम्की र प्रचारबाट आफू विचलित नहुने स्पष्ट पार्दै उनले पक्राउ गर्न आउने भए हतकडीसहित आउन चुनौती दिए।

राजाको शासनकालमा समेत आफूले राजद्रोहको मुद्दा खेपेको स्मरण गर्दै थापाले सत्ताको शक्ति र प्रभाव देखाएर आफूलाई तर्साउन नसकिने बताए। माओवादी सशस्त्र द्वन्द्वकालदेखि केपी शर्मा ओली नेतृत्वको शक्तिशाली सरकारका पालासम्म आफूले निरन्तर सत्तालाई प्रश्न गर्दै आएको उनको भनाइ थियो।

सरकार लोकप्रिय र शक्तिशाली रहेको भन्दै प्रश्न उठाउँदा परिणाम भोग्नुपर्ने चेतावनी पार्टीभित्रैबाट आउने गरेको उनले सुनाए। सामाजिक सञ्जालमार्फत विभिन्न कथा, अडियो र भिडियो सार्वजनिक गरेर कांग्रेस नेतृत्वमाथि भय र दबाब सिर्जना गर्न खोजिएको आरोप पनि उनले लगाए।

‘अहिले पनि साथीहरूले बेलाबेलामा सम्झाउनुहुन्छ, सरकार एकदम कडा छ, सरकार एकदम लोकप्रिय छ, सरकार एकदम शक्तिशाली छ, प्रश्न गर्‍यो भने तल–माथि हुन सक्छ,’ थापाले भने।

आफूलाई पक्राउ गरेर पोखरा लैजाने चर्चा चलेको प्रसंग उल्लेख गर्दै उनले भने, ‘पक्रँदै गर्दा खाली हात चाहिँ नआउनु, हतकडी चाहिँ लिएर आउनु। खाली हात चाहिँ जान्न, यत्ति कुरा मात्रै हो। न नेपाली कांग्रेस पार्टीले आफ्नो चरित्र गुमाउँछ, न कांग्रेसको सभापतिले आफ्नो चरित्र गुमाउँछ।’

थापाले दोषीलाई कानुनअनुसार कारबाही गर्ने विषयमा कांग्रेस सरकारको साथमा रहने पनि स्पष्ट पारे। तर सत्ता निकट व्यक्तिलाई उन्मुक्ति दिने र राजनीतिक रूपमा फरक मत राख्नेहरूलाई मात्रै अनुसन्धान तथा कारबाहीको निशाना बनाउने प्रवृत्ति स्वीकार्य नहुने उनले बताए।

विगतका घटनाबारे राज्यले गरिरहेको अनुसन्धानमा कांग्रेसले कुनै अवरोध नगर्ने उनको भनाइ थियो। कांग्रेसका नेता वा अन्य कुनै दलका व्यक्ति भए पनि कानुनले अनुसन्धान गर्नुपर्ने ठहर गरेका सबैमाथि निष्पक्ष छानबिन हुनुपर्ने उनले बताए।

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र केपी शर्मा ओली नेतृत्वका सरकारका पालामा पनि आफूले यही मान्यता राखेको स्मरण गर्दै थापाले अहिले प्रधानमन्त्री बालेन साह वा राष्ट्रिय स्वतन्त्र पार्टीसँग निकट रहेका व्यक्तिले पनि कानुनी उन्मुक्ति पाउन नहुने बताए।

‘कोही मान्छे प्रधानमन्त्री बालेन साहसँग नजिक भएको कारणले छुट पाउनु हुँदैन भनेर भन्ने हो कि होइन अहिले हामीले ? कोही मान्छे राष्ट्रिय स्वतन्त्र पार्टीको भएको कारणले छुट पाउनु हुँदैन भनेर भन्ने हो कि होइन हामीले ?’ उनले प्रश्न गरे।

तर अनुसन्धानका नाममा राजनीतिक प्रतिशोध साँध्न खोजिए कांग्रेसले त्यसको जवाफ माग्ने थापाको चेतावनी थियो। राज्यका अनुसन्धान तथा सुरक्षा संयन्त्रलाई निजी कम्पनीजसरी सञ्चालन गर्न खोजिए वा राजनीतिक प्रतिद्वन्द्वीलाई तह लगाउने माध्यम बनाइए कांग्रेसले त्यसविरुद्ध प्रश्न उठाउने उनले बताए।

‘राज्यका संयन्त्रहरूको दुरुपयोग भएको ठाउँमा हाम्रो प्रश्न रहन्छ, हामी त्यहाँ उत्तर खोज्छौँ। राज्यका संयन्त्रलाई निजी कम्पनीजस्तो चलाउन खोज्दै गर्दा हाम्रो प्रश्न रहन्छ, हामी जवाफ खोज्छौँ,’ उनले भने।

सरकारका राम्रा काममा सहयोग गर्ने र गलत कामको निरन्तर खबरदारी गर्ने कांग्रेसको नीति रहेको पनि थापाले स्पष्ट पारे। पार्टीले उठाउने मुद्दालाई नाफा–घाटाको हिसाबले नहेर्ने उल्लेख गर्दै उनले सत्य र न्यायको पक्षमा उभिन कांग्रेस पछि नहट्ने बताए।

सरकारमा रहेका व्यक्तिहरूले धम्की वा दबाबमार्फत कांग्रेसको आलोचनात्मक भूमिका कमजोर बनाउन खोजे त्यो सम्भव नहुने उनको भनाइ थियो।

प्रकाशित मिति: ८ मंसिर २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com