काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलमाथि कडा टिप्पणी गर्दै प्रतिनिधिसभा विघटनको निर्णयप्रति असन्तुष्टि जनाएका छन्। उनले राष्ट्रपतिले डरका कारण प्रतिनिधिसभा विघटन गरेको आरोप लगाउँदै त्यसलाई लोकतन्त्र संरक्षणको कदम भन्न नमिल्ने बताएका छन्।
मंसिर ५ गते काठमाडौंमा आयोजित एमालेको जनवर्गीय संगठन नेसनल भोलेन्टियर्स फोर्सको स्थापना दिवस कार्यक्रममा बोल्दै ओलीले राष्ट्रपति पौडेललाई ‘डरपोक’ भन्दै उनको निर्णयमाथि प्रश्न उठाएका हुन्।
‘डरपोक राष्ट्रपतिले—सम्माननीय हुनुहुन्छ, भन्न त भएन—डरपोक भएर प्रतिनिधिसभाको असंवैधानिक विघटन गर्नुभयो र बडो जुक्ति लगाएर लोकतन्त्र जोगाएँ भन्नुभयो,’ ओलीले भने, ‘असंवैधानिक ढङ्गले संसद् विघटन गरेर लोकतन्त्र जोगिन्छ ?’
ओलीले वर्तमान सरकार गठनको प्रक्रियामाथि समेत प्रश्न उठाउँदै त्यसको जग आतंक, आगजनी र तोडफोडमा रहेको आरोप दोहोर्याए। सरकार गठन नै असंवैधानिक भएकाले मुलुकमा संवैधानिक व्यवस्था र लोकतान्त्रिक विधि कमजोर बनेको उनको दाबी छ।
जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रमलाई लिएर ओलीले यसअघि पनि सरकार र राष्ट्रपतिको आलोचना गर्दै आएका छन्। पछिल्लो अभिव्यक्तिपछि भने उनको आफ्नै पार्टीभित्रसमेत असन्तुष्टि देखिएको समाचारमा उल्लेख छ।
एमालेका एक पदाधिकारीले राष्ट्रपतिलाई डरपोक भन्नुको कुनै औचित्य नरहेको टिप्पणी गरेका छन्। उनका अनुसार ओली स्वयं प्रधानमन्त्री रहेका बेला देशको सुरक्षा अवस्था सम्हाल्न नसकी हेलिकोप्टरबाट बाहिरिनुपरेको थियो। पार्टीका केही नेताले भदौ २३ गते नै राजीनामा दिएर राजनीतिक निकास खोज्न सुझाव दिए पनि ओलीले त्यसलाई बेवास्ता गरेको ती नेताको दाबी छ।
भ्रष्टाचार नियन्त्रण, सुशासन र सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउन माग गर्दै २०८२ भदौ २३ गते सुरु भएको जेनजी आन्दोलनको दोस्रो दिन व्यापक हिंसा र तोडफोड भएको थियो। आन्दोलनका क्रममा सुरक्षाकर्मीको गोली लागेर पहिलो दिन २२ जनाको मृत्यु भएको थियो। भदौ २४ गते निजी तथा सार्वजनिक सम्पत्तिमा आगजनी र तोडफोड भएपछि तत्कालीन प्रधानमन्त्री ओली बालुवाटारबाट हेलिकोप्टरमार्फत बाहिरिएका थिए।
त्यसपछि दलहरूबीचको सहमतिमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो। सोही सरकारले प्रतिनिधिसभा विघटन गरी निर्वाचनको मिति तय गरेको थियो। उक्त विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको फैसला अझै हुन बाँकी रहेको छ।
ओलीले प्रतिनिधिसभा विघटनको निर्णयलाई असंवैधानिक भन्दै अदालतको ढिलाइप्रति पनि सार्वजनिक रूपमा असन्तुष्टि जनाउँदै आएका छन्। लोकतान्त्रिक संस्थाहरू कमजोर पारिएको र राज्यका निकायले त्यसको प्रतिवाद नगरेको उनको आरोप छ।
‘लोकतान्त्रिक संस्थाहरू कमजोर पारिए, विघटन गरिए, समाप्त पारिए र यसमा राज्यको कुनै निकायले प्रतिवाद गरेन। अचम्म लाग्छ,’ ओलीले भनेका छन्।
यसैबीच, ओलीको पछिल्लो अभिव्यक्तिप्रति राष्ट्रपति कार्यालयले पनि चासो राखेको स्रोतले जनाएको छ। राष्ट्रपति निकट स्रोतका अनुसार पूर्वप्रधानमन्त्री तथा राजनीतिक दलका अध्यक्षबाट आउने अभिव्यक्ति जिम्मेवार र मर्यादित हुनुपर्ने विषयमा राष्ट्रपतिले ध्यानाकर्षण गरेका छन्।
राष्ट्रपति निकट स्रोतले ओली स्वयं कार्यकारी प्रमुख रहेका बेला भएको घटनाक्रमको जिम्मेवारीबारे पनि आत्मसमीक्षा गर्नुपर्ने टिप्पणी गरेको छ।
एमालेकै केही नेताहरूले ओलीको पछिल्लो अभिव्यक्तिले पार्टीको राजनीतिक छविमा असर पार्न सक्ने चिन्ता व्यक्त गरेका छन्। उनीहरूले भदौ २४ को घटनालाई मात्रै दोहोर्याएर अरूमाथि दोष थोपर्नुभन्दा तत्कालीन सरकारको भूमिकाबारे पनि समीक्षा गर्नुपर्ने बताएका छन्।
प्रकाशित मिति: ८ मंसिर २०८३, मंगलबार













प्रतिक्रिया