काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्रीको भारत भ्रमणबाट मुलुकको दीर्घकालीन हितमा के उपलब्धि हासिल भयो भन्ने विषयमा सरकारले जनतालाई स्पष्ट जानकारी दिनुपर्ने बताएका छन्।

पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै थापाले भारत भ्रमणका क्रममा दीर्घकालीन राष्ट्रिय हितसँग जोडिएका ठोस उपलब्धि देखिन नसकेको टिप्पणी गरे। उनले भ्रमणको उद्देश्य, उपलब्धि र त्यसबाट मुलुकलाई हुने लाभबारे प्रधानमन्त्रीले जनतालाई जानकारी गराउनुपर्ने बताए।

‘भारत भ्रमणमा दीर्घकालीन हितका विषयमा केही भएजस्तो देखिएको छैन। के भएको हो प्रधानमन्त्रीले जनतालाई बताउनुपर्दैन ? के हामी चुप लागेर बस्ने ?’ थापाले बैठकमा भने।

सभापति थापाले राजनीतिक निकटताका आधारमा कसैले पनि कानुनी उन्मुक्ति पाउन नहुने धारणा पनि राखे। कुनै व्यक्ति प्रधानमन्त्री बालेन शाह वा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग नजिक रहेको आधारमा अनुसन्धान र कारबाहीबाट छुट दिन नहुने उनको भनाइ थियो।

राज्यका संयन्त्रलाई निजी कम्पनीजस्तो गरी सञ्चालन गर्न खोजिए र प्रतिपक्षीमाथि मात्रै राज्यशक्तिको प्रयोग गरिए कांग्रेसले त्यसको विरोध गर्ने उनले चेतावनी दिए।

‘कोही मान्छे बालेन शाहको नजिक भएको भनेर छुट पाउनु हुँदैन। रास्वपासँग नजिक भएको भनेर छुट पाउनु हुँदैन। राज्यका संयन्त्रलाई प्राइभेट कम्पनी बनाउन खोज्दा कांग्रेस बोल्छ, बोल्छौँ। प्रतिपक्षीमाथि मात्रै हेर्दा कांग्रेस बोल्नुपर्छ, बोल्छ,’ थापाले भने।

प्रकाशित मिति: ८ मंसिर २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com