काठमाडौं । नेपाली कांग्रेसले शेरबहादुर देउवा समूहले आयोजना गर्न लागेको समानान्तर महाधिवेशनमा सहभागी हुने पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिमाथि अनुशासनको कारबाही प्रक्रिया अघि बढाउने तयारी गरेको छ।

गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिले समानान्तर महाधिवेशनको पक्षमा खुलेर लागेका राष्ट्रिय सभा सदस्य, प्रदेश सभा सदस्य तथा स्थानीय तहका जनप्रतिनिधिमाथि कारबाहीको प्रक्रिया अघि बढाउन अनुशासन समिति गठन गर्ने भएको हो।

स्राेतका अनुसार समिति गठन भएपछि समानान्तर महाधिवेशनमा सहभागी हुनुको कारण खुलाउन सम्बन्धित जनप्रतिनिधिलाई स्पष्टीकरण सोधिनेछ। प्राप्त जवाफको अध्ययन गरेपछि मात्रै कारबाही गर्ने वा नगर्ने निर्णय लिइनेछ।

देउवा समूहको पक्षमा खुलेर उभिएका राष्ट्रिय सभा सदस्य, प्रदेश सभा सदस्य, गाउँपालिका तथा नगरपालिकाका प्रमुख–उपप्रमुख, वडाध्यक्ष र सदस्यहरूलाई लक्षित गर्दै कांग्रेसले यस्तो कदम चाल्न लागेको हो।

पार्टीले तत्काल कारबाही नगरी विधान र कानुनी प्रक्रियाअनुसार पहिले स्पष्टीकरण माग्ने र जवाफ चित्तबुझ्दो नभए थप कारबाही अघि बढाउने नीति लिएको स्राेतले जनाएकाे छ ।

यसअघि मंगलबार केन्द्रीय समिति बैठकको सुरुवात गर्दै सभापति गगन थापाले समानान्तर महाधिवेशनमा संलग्न हुने जनप्रतिनिधिमाथि पार्टी विधानअनुसार कारबाही प्रक्रिया अघि बढाइने बताएका थिए।

देउवा समूहको समानान्तर महाधिवेशनको पक्षमा राष्ट्रिय सभा सदस्यहरू आनन्दप्रसाद ढुंगाना, जीतजंग बस्नेत, खम्मबहादुर खाती, ललितजंग शाही, कृष्णप्रसाद सिटौला र जगत तिमिल्सिनालगायत खुलेर लागेका छन्।

त्यस्तै, कोशी प्रदेश सभा सदस्य केदार कार्की र भूपेन्द्र राई, लुम्बिनी प्रदेश सभा सदस्य सरोज थापा (रोज राणा) तथा गण्डकी प्रदेश सभा सदस्य जीत शेरचन पनि देउवा समूहको पक्षमा देखिएका छन्।

स्थानीय तहका विभिन्न पदमा निर्वाचित जनप्रतिनिधिहरू समेत देउवा समूहको गतिविधिमा सक्रिय रहेकाले उनीहरूको भूमिकाबारे अध्ययन र छानबिन गर्न अनुशासन समिति गठन गर्न लागिएको कांग्रेस स्रोतले जनाएको छ।

प्रकाशित मिति: ९ मंसिर २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com