काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य एवं विदेश विभाग सदस्य विष्णु रिजालले प्रधानमन्त्री बालेन्द्र शाहको विदेश भ्रमणका क्रममा देखिएको व्यवहारप्रति प्रश्न उठाएका छन्।
राष्ट्रको प्रतिनिधित्व गर्दै विदेश भ्रमणमा जाने नेतृत्वले आफ्नो व्यवहारले देश र नागरिकको प्रतिष्ठामा पार्न सक्ने प्रभावप्रति सचेत हुनुपर्ने उनको धारणा छ।
सामाजिक सञ्जालमार्फत आफ्नो विचार सार्वजनिक गर्दै रिजालले भारतकी पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीको सन् १९६६ को पहिलो अमेरिका भ्रमणको एउटा प्रसंग स्मरण गरेका छन्।
उनका अनुसार तत्कालीन अमेरिकी राष्ट्रपति लिन्डन बी जोन्सनले ह्वाइट हाउसमा आयोजना गरेको रात्रिभोजका क्रममा गान्धीलाई नृत्यका लागि प्रस्ताव गरेका थिए। तर, गान्धीले ‘मेरा जनताले के सोच्छन् ?’ भन्दै उक्त प्रस्ताव अस्वीकार गरेकी थिइन्।
रिजालले आधुनिक विचारधाराकी, पश्चिमी मुलुकमा अध्ययन गरेकी र पारिवारिक असहमतिका बाबजुद पारसी समुदायका फिरोज जहागिरसँग प्रेम विवाह गरेकी गान्धीले समेत सार्वजनिक जिम्मेवारीलाई प्राथमिकता दिएको उल्लेख गरेका छन्।
उनले केही वर्षअघि पढेको इन्दर मल्होत्राद्वारा लिखित पुस्तक ‘इन्दिरा गान्धी : अ पर्सनल एन्ड पोलिटिकल बायोग्राफी’ मा उक्त प्रसंग विस्तृत रूपमा उल्लेख भएको बताएका छन्।
इन्दिरा गान्धीको यही प्रसंगसँग तुलना गर्दै रिजालले प्रधानमन्त्री बालेन्द्र शाहको प्राथमिकता आफ्नै देशका नागरिकको धारणा बुझ्नुभन्दा विदेशीहरूको मन जित्नेतर्फ केन्द्रित देखिएको टिप्पणी गरेका छन्।
प्रकाशित मिति: १० मंसिर २०८३, बिहिबार













प्रतिक्रिया