काठमाडौं । नेकपाका नेता वर्षमान पुनले मलेसिया वैदेशिक रोजगारीसँग जोडिएको ठगी प्रकरणमा तत्कालीन श्रममन्त्री तथा हालका सभामुख डीपी अर्यालमाथि छानबिन नगरिएको भन्दै सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका छन्।

रोल्पामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पुनले सरकारले आफू निकटका व्यक्तिलाई जोगाएर फरक मत राख्नेहरूमाथि मात्रै कारबाही अघि बढाएको आरोप लगाए।

उनका अनुसार उक्त प्रकरणसँग जोडिएका सात जना मन्त्री भए पनि छानबिन र कारबाहीका क्रममा केही व्यक्तिलाई मात्रै लक्षित गरिएको छ। प्रकरण सुरु हुँदा जिम्मेवारीमा रहेका मन्त्रीदेखि त्यसबीचका अन्य मन्त्रीहरूमाथि समेत अनुसन्धान नभएको उनको भनाइ छ।

‘त्यो बीचमा सात जना मन्त्री भएको देखिन्छ। तर, जसलाई फसाउन खोजियो, उनीहरूको नाम मात्रै छानेर कारबाही गरेको देखिन्छ। सुरु गर्ने मन्त्रीलाई पनि छानबिन गरिएको छैन, बीचका मन्त्रीहरूलाई पनि गरिएको छैन। आफ्नै पार्टीका तर्फबाट अहिले सभामुख हुनुभएका व्यक्ति पनि त्यतिबेला मन्त्री हुनुहुन्थ्यो,’ पुनले भने।

उनले सरकारको यस्तो कार्यशैलीलाई सुशासन नभई निर्देशित छानबिन र राजनीतिक प्रतिशोधको संज्ञा दिए।

राजनीतिक रूपमा फरक विचार राख्ने व्यक्ति तथा पुराना दलका नेता निकट रहेकाहरूलाई मात्रै निशाना बनाउने प्रवृत्ति देखिएको उनको आरोप छ।

निजी क्षेत्रमा समेत पुराना राजनीतिक दल वा नेतासँग निकटता रहेको आधारमा व्यक्तिहरूलाई त्रसित पार्ने काम भइरहेको पुनले दाबी गरे।

प्रकाशित मिति: १० मंसिर २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com