काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सञ्चारमाध्यमलाई समाचारको स्रोत खुलाउन बाध्य पार्न नहुने बताएका छन्। उनले पञ्चायतकालमा समेत न्युजरूममा सरकार प्रवेश गरेर हस्तक्षेप गर्ने अभ्यास नरहेको उल्लेख गर्दै वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन्।

बिहीबार राजधानीमा पत्रकार तथा सम्पादकहरूसँगको भेटघाटमा ओलीले समाचारको स्रोत गोप्य राख्न पाउनु प्रेसको अधिकार भएको बताए। पत्रकारलाई स्रोत खोल्न बाध्य पार्नु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप हुने उनको भनाइ थियो।

गत कात्तिक १३ गते प्रहरीले समाचारको स्रोत खोज्ने उद्देश्यले विभिन्न सञ्चारमाध्यमका कार्यालयमा प्रवेश गरी पत्रकारमाथि धरपकड गरेको घटनाप्रति संकेत गर्दै उनले असन्तुष्टि जनाएका हुन्।

‘स्रोत खोल्न बाध्य पार्नु हुँदैन, त्यो प्रेसको अधिकार हो। तर प्रेस पनि जिम्मेवार हुनुपर्छ र जनताप्रति उत्तरदायी हुनुपर्छ,’ ओलीले भने। उनले झुटा समाचार र पीत पत्रकारिताबाट सञ्चारमाध्यम टाढा रहनुपर्ने पनि बताए।

लोकतन्त्र र संविधानको रक्षाका लागि लोकतान्त्रिक शक्तिहरू मिलेर अघि बढ्नुपर्ने उनको धारणा थियो।

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणबारे टिप्पणी गर्दै ओलीले राष्ट्रको हितलाई केन्द्रमा राखेर पर्याप्त संवाद र एजेन्डामा छलफल हुन नसकेको बताए। अवसर पाएको समयमा राष्ट्रिय हितका विषय उठाएर सम्भव भएसम्मका काम अघि बढाउनुपर्ने भए पनि त्यसो हुन नसकेको उनको भनाइ थियो।

प्रकाशित मिति: १० मंसिर २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com