काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापासहित विभिन्न राजनीतिक नेता, व्यवसायी तथा पूर्वप्रधानन्यायाधीशविरुद्ध बयान दिन आफूलाई धम्की र दबाब दिइएको इनम सापकोटाले आरोप लगाएका छन्। शारीरिक तथा मानसिक यातना दिइएको र परिवारसमेतको ज्यान मार्ने धम्की आएको भन्दै उनले राष्ट्रिय मानव अधिकार आयोगसँग जीवन रक्षाको माग गरेका छन्।
सापकोटाकी श्रीमती कविता सापकोटामार्फत आयोगमा दर्ता गराइएको उजुरीमा प्रहरीले आफूलाई नियन्त्रणमा लिएर आँखामा पट्टी बाँधी अज्ञात स्थानमा लगेको उल्लेख छ। उनका अनुसार असोज १४ गतेदेखि १५ गते साँझसम्म आँखामा कालोपट्टी बाँधेर विभिन्न विषयमा सोधपुछ गरिएको थियो।
उजुरीमा कांग्रेस सभापति थापा, पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, कांग्रेस नेता तथा व्यवसायी उमेश श्रेष्ठ, भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ, हिमालय होटलका नवीन तुलाधरलगायत व्यक्तिविरुद्ध प्रमाण र बयान दिन दबाब दिइएको दाबी गरिएको छ। आफूलाई ती व्यक्तिहरूबारे जानकारी नभएका विषयमा समेत बयान दिन बाध्य पार्न खोजिएको सापकोटाको आरोप छ।
‘यी व्यक्तिहरूका विषयमा प्रमाण र बयान दिए छाडिदिन्छौँ, नत्र तिमी मात्र होइन, तिम्रो परिवारलाई समेत नराम्रो हुन्छ’ भन्दै धम्की दिइएको उजुरीमा उल्लेख छ। आफूले बयान दिन अस्वीकार गरेपछि झुटा मुद्दा लगाएर लामो समय जेलमा राख्ने र परिवारको जिउज्यानमा खतरा पुर्याउने चेतावनीसमेत दिइएको उनको दाबी छ।
सापकोटाका अनुसार २०८३ असोज १४ गते नयाँदिल्ली जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका बेला अन्तिम सुरक्षा जाँचस्थलबाट प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो। असोज १६ गते बिहान हतकडी लगाएर काठमाडौंको पानीपोखरीस्थित निवासमा पुर्याइएको र त्यसपछि पुनः आँखामा पट्टी बाँधेर जिल्ला प्रहरी परिसर, भद्रकाली लगिएको उजुरीमा उल्लेख छ।
त्यसक्रममा आफूलाई केही कुरा पढ्न लगाएर त्यसैका आधारमा तयार पारिएको कागजमा हस्ताक्षर गर्न दबाब दिइएको पनि उनले बताएका छन्। घर खानतलासी गर्दा पुरानो ल्यापटप, मोबाइल तथा केही कागजात नियन्त्रणमा लिइएको तर बरामद भएका वस्तु र रकमबारे गलत विवरणसहित मुचुल्का तयार पार्न खोजिएको उनको आरोप छ।
यसअघि इनम सापकोटाको बयान भन्दै नेपाली कांग्रेसको आधिकारिकताका लागि १८ करोड रुपैयाँ दिएको दाबी गरिएको अडियो सार्वजनिक भएको थियो। उक्त अडियो प्रधानमन्त्रीका सल्लाहकारको योजनामा सुनियोजित रूपमा रेकर्ड गरिएको भन्दै नेपाली कांग्रेसले खण्डन गरेको थियो। सरकारले बिचौलियाको आरोपमा सापकोटालाई पक्राउ गरेको थियो।
आयोगमा दर्ता गरिएको उजुरीमार्फत सापकोटाले आफूलाई नियन्त्रणमा लिने, यातना दिने, धम्की दिने तथा झुटा विवरण तयार गर्ने कार्यमा संलग्न व्यक्तिहरूको पहिचान गरी आवश्यक अनुसन्धान र कारबाही गर्न माग गरेका छन्।
प्रकाशित मिति: ११ मंसिर २०८३, शुक्रबार














प्रतिक्रिया