काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका प्रशिक्षण, अधिवेशन तथा अन्य कार्यक्रममा सहभागीलाई वितरण गर्दै आएको झोलाको सट्टा फाइल र स्मार्ट डायरी प्रयोग गर्ने भएको छ।
शनिबार कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम उद्घाटन गर्दै पार्टी सभापति रवि लामिछानेले राजनीतिक कार्यकर्तालाई ‘झोले’ भनेर अपमान गर्ने प्रवृत्तिबाट बाहिर निस्कन यस्तो अभ्यास सुरु गर्न लागेको बताए।
उनले पार्टीको विचार र सिद्धान्तप्रति प्रतिबद्ध भएर राजनीतिमा लाग्ने व्यक्तिलाई ‘झोले’ भन्ने भाष्य बदल्नुपर्ने उल्लेख गर्दै रास्वपालाई ‘झोले युग’ बाट बाहिर निकाल्ने अभियान सुरु गरिएको बताए।
अब पार्टीका कार्यक्रममा सहभागीलाई झोलाको सट्टा जनताका गुनासा, सुझाव र मुद्दा राख्न मिल्ने फाइल तथा स्मार्ट डायरी उपलब्ध गराइने उनको भनाइ थियो। उक्त फाइलमा आवश्यक कागजातसँगै ल्यापटप, आईप्याडलगायत सामग्रीसमेत राख्न सकिने उनले बताए।
लामिछानेले पार्टीका कार्यक्रम विभिन्न संस्था तथा गैरसरकारी संस्थाको आर्थिक सहयोग र प्रायोजनमा निर्भर हुन नहुने धारणा राखे। कार्यक्रम सञ्चालनका लागि पार्टी आफैँले स्रोत जुटाउने र सहभागीले आफ्नो क्षमताअनुसार सामग्री खरिद गर्ने व्यवस्था गरिने उनले बताए।
आर्थिक अवस्था कमजोर भएका कार्यकर्तालाई पार्टीभित्रकै सक्षम साथीहरूले सहयोग गर्नुपर्ने उनको भनाइ थियो। मुगु, कालीकोट, हुम्ला र जुम्लालगायत जिल्लाबाट प्रशिक्षणमा सहभागी हुन आएका कम्तीमा १० जनाका लागि आफूले व्यक्तिगत रूपमा फाइल खरिद गरिदिने घोषणा पनि उनले गरे।
उनले अबदेखि पार्टीका प्रशिक्षण, अभियान, अधिवेशन तथा महाधिवेशनमा झोलाको सट्टा फाइल प्रयोग गर्ने अभ्यासलाई निरन्तरता दिइने बताए।
प्रकाशित मिति: १२ मंसिर २०८३, शनिबार













प्रतिक्रिया