काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कर्णालीको विकासलाई मतसँग जोडेर राजनीतिक सौदाबाजी नगर्ने बताएका छन्। आफ्ना उम्मेदवारले चुनाव जिते वा हारे पनि कर्णालीको विकास पार्टीको प्राथमिकतामा रहने उनको भनाइ छ।

शनिबार कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम उद्घाटन गर्दै लामिछानेले कर्णालीले रास्वपालाई एक मत पनि नदिए पनि प्रदेशको विकासका लागि पार्टीले काम गर्ने प्रतिबद्धता जनाए।

‘हाम्रा उम्मेदवारलाई विजयी गराउनु र नगराउनुसँग कर्णालीको विकासको साइनो छैन,’ उनले भने, ‘कर्णालीले विकास मागेको छ। रास्वपा सरकारमा रहुन्जेल कर्णालीले एक जना मात्र पनि नपठाओस्, एक भोट पनि नदियोस्, कर्णाली हाम्रो प्राथमिकतामा रहनेछ।’

लामिछानेले अन्य प्रदेशको तुलनामा कर्णालीमा रास्वपाको राजनीतिक उपस्थिति र संसदीय प्रतिनिधित्व कमजोर रहेको स्वीकार गरे। पार्टीको आवाज दूरदराजसम्म पुर्‍याउन नसकिएको उल्लेख गर्दै उनले अब कर्णालीका मुद्दालाई प्राथमिकतामा राखेर काम गर्ने बताए।

रास्वपा शान्तिपूर्ण विद्रोहको उद्देश्यसहित स्थापना भएको उल्लेख गर्दै उनले रगतको एक थोपा पनि नबगाई र कुनै परिवारलाई पीडामा नपारी राजनीतिक परिवर्तन गर्ने लक्ष्य पार्टीले लिएको बताए। परम्परागत दलबाट अपेक्षित परिणाम नआएपछि विभिन्न दलमा लामो समय काम गरेका नेता तथा कार्यकर्ता पनि रास्वपामा जोडिएको उनको भनाइ थियो।

जनताको दैनिक जीवन र जनजीविकासँग जोडिने परिणाममुखी राजनीति आवश्यक रहेको बताउँदै लामिछानेले स्थापनाको चार वर्षमै पार्टीले उल्लेखनीय राजनीतिक उपलब्धि हासिल गरेको दाबी गरे। अब जनताको अपेक्षाअनुसार काम गरेर परिणाम देखाउने जिम्मेवारी पार्टीको काँधमा आएको उनले बताए।

प्रशिक्षणमा सहभागी कार्यकर्तालाई नेताहरूको भीडभन्दा बाहिर रहेर नागरिकसँग प्रत्यक्ष संवाद गर्न निर्देशन दिँदै लामिछानेले आफू पनि आसपासका बस्तीमा पुगेर स्थानीयका समस्या र गुनासा सुन्ने बताए। त्यसक्रममा पार्टीका नेता तथा कार्यकर्तालाई आफ्नो साथमा नआउन आग्रह गरेको उनले जानकारी दिए।

प्रकाशित मिति: १२ मंसिर २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com