काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आगामी मंसिर १७ गते गोरखामा गुरुङ समुदायको मौलिक परम्पराअनुसार विवाह गर्ने भएका छन्। उनले विवाहलाई भड्किलो र खर्चिलो नबनाई सीमित व्यक्तिको उपस्थितिमा सामान्य रूपमा सम्पन्न गर्ने घोषणा गरेका छन्।

तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्को १५औँ केन्द्रीय पार्षदसभालाई सम्बोधन गर्दै गुरुङले आफ्नै समुदायका माझ विवाहको मिति सार्वजनिक गर्न पाउँदा खुसी र गर्व लागेको बताए।

पुर्खाको इतिहास, समुदायको पहिचान तथा मौलिक कला, संस्कृति र भेषभूषाको संरक्षण गर्ने उद्देश्यले गोरखामा विवाह गर्न लागेको उनले बताए। आफू र हुनेवाला श्रीमती दुवैको चाहनाअनुसार पार्टी प्यालेसमा भव्य समारोह नगरी परम्परागत शैलीमा विवाह गर्ने उनको भनाइ छ।

विवाहलाई प्रतिष्ठा र प्रतिस्पर्धाको विषय बनाउने प्रवृत्तिप्रति असन्तुष्टि जनाउँदै उनले ऋण लिएर भए पनि भव्य भोजभतेर र तामझाम गर्नुपर्ने सोच गलत भएको बताए। विवाह एकअर्काका लागि हुने भएकाले अनावश्यक खर्च गर्न नहुने उनको तर्क थियो।

आफ्नो विवाहले गोरखाको ग्रामीण पर्यटन, होमस्टे र स्थानीय संस्कृतिको प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा पनि उनले व्यक्त गरे। उक्त क्षेत्रलाई भविष्यमा पर्यटन तथा विवाह गन्तव्यका रूपमा विकास गर्न सकिने उनको भनाइ थियो।

विवाहमा सरकारका प्रतिनिधि तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसमेत सहभागी हुने अपेक्षा गरिएको उनले बताए।

कार्यक्रममा गुरुङले आफ्नो राजनीतिक तथा सामाजिक यात्रामा समुदायले पुर्‍याएको साथ र सहयोगप्रति आभार व्यक्त गरे। कठिन समयमा पनि देश तथा विदेशमा रहेका गुरुङ समुदायले साथ दिएको स्मरण गर्दै उनले पार्टीको झन्डाभन्दा देश माथि हुने पाठ आफ्नो समुदायले सिकाएको बताए।

देशमा सुशासन र समृद्धिका लागि सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले नागरिकको सुरक्षा र राष्ट्रिय हितका लागि आफूले काम गर्ने बताए।

प्रकाशित मिति: १२ मंसिर २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com