काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको दुरुपयोग गरेर भएका भनिएका अनियमितता र काण्डबारे अध्ययन गरी जनतामाझ तथ्यसहित प्रस्तुत हुन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।
पार्टी केन्द्रीय कार्यालय सानेपामा ‘हामी तयार छौँ’ अभियानअन्तर्गत स्थानीय तहका जनप्रतिनिधिका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री कार्यालयको दुरुपयोगसँग जोडिएका घटनाबारे एक–एक गरी अध्ययन गर्न आग्रह गरेका हुन्।
‘प्रधानमन्त्री कार्यालयको दुरुपयोग गरेर भएका काण्डहरूबारे तपाईंहरूले एक–एक कुरा पढ्नुपर्छ, बुझ्नुपर्छ र मनन गर्नुपर्छ,’ थापाले भने। यद्यपि, उनले ती काण्ड कुन–कुन हुन् भन्नेबारे खुलाएनन्।
सरकारका काममाथि निगरानी र खबरदारी गरिरहेको सन्देश जनतामाझ पुर्याउन पनि उनले पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरे। सरकारका गलत काम र गतिविधिको तथ्यसहित भण्डाफोर गर्दै प्रमुख प्रतिपक्षीको भूमिका प्रभावकारी बनाउनुपर्ने उनको भनाइ थियो।
कांग्रेससँग नैतिक पुँजी रहेको उल्लेख गर्दै थापाले त्यसैको बलमा सरकारका गलत कामविरुद्ध आवाज उठाउनुपर्ने बताए। अन्यायमा परेका पार्टीका नेता तथा कार्यकर्ताको पक्षमा बोल्न र गलत कामको विरोध गर्न कांग्रेस तयार रहेको उनले स्पष्ट पारे।
‘हामी सबै कुरा सामना गर्न तयार छौँ। गलत कामको भण्डाफोर गर्न र त्यसविरुद्ध लड्न तयार छौँ,’ थापाले भने।
प्रकाशित मिति: १३ मंसिर २०८३, आइतबार













प्रतिक्रिया