काठमाडौं । बंगलादेशमा पूर्वप्रधानमन्त्री शेख हसीनाको पार्टी अवामी लिगले आह्वान गरेको ४८ घण्टे देशव्यापी बन्दका क्रममा आइतबार हिंसा भड्किएको छ । विपक्षी बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का कार्यकर्तासँग भएको झडपमा अवामी लिगका एक स्थानीय कार्यकर्ताको हत्या भएको छ ।

प्रहरी र प्रत्यक्षदर्शीका अनुसार दक्षिण–पश्चिमी बंगलादेशको शरियतपुरमा अवामी लिगका कार्यकर्ता इब्राहिम सिपाहीको धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो । झडपमा अन्य केही व्यक्ति घाइते भएका छन् ।

हिंसा ६४ मध्ये कम्तीमा १४ जिल्लामा फैलिएको छ । राजधानी ढाकासहित विभिन्न स्थानमा कच्चा बम विस्फोट, सवारीसाधनमा आगजनी र सडक अवरुद्धका घटना भएका छन् । प्रदर्शनकारीले सडक अवरुद्ध गरेपछि दक्षिण–पश्चिमी क्षेत्रलाई अन्य भागसँग जोड्ने पद्मा पुलमा यातायातसमेत प्रभावित भएको छ ।

अवामी लिगले आफ्नो राजनीतिक गतिविधिमाथिको प्रतिबन्धको विरोधमा बन्द आह्वान गरेको हो । तत्कालीन अन्तरिम सरकारले सन् २०२५ मेदेखि पार्टीका गतिविधिमा प्रतिबन्ध लगाएको थियो । प्रधानमन्त्री तारिक रहमान नेतृत्वको वर्तमान बीएनपी सरकारले पनि उक्त प्रतिबन्धलाई निरन्तरता दिएको छ ।

शेख हसीनाले आगामी डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि राजनीतिक तनाव थप चुलिएको छ । सन् २०२४ अगस्टमा विद्यार्थी आन्दोलनका कारण सत्ता गुमाएकी उनी त्यसयता भारतमा बस्दै आएकी छन् । सन् २०२५ नोभेम्बरमा बंगलादेशको एक अदालतले उनलाई अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाएको थियो ।

हिंसा नियन्त्रण गर्न सरकारले सुरक्षा व्यवस्था कडा पार्दै सीमा रक्षक बंगलादेश (बीजीबी) का थप सात टोली परिचालन गरेको छ । यसअघि नै १२० टोली खटाइएकोमा ढाकासहित सात जिल्लामा निगरानीका लागि ड्रोनसमेत प्रयोग गरिएको छ । प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पार्न अश्रुग्यास र आवाज निकाल्ने ग्रेनेड प्रयोग गरेको छ ।

प्रकाशित मिति: १३ मंसिर २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com