काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनीष झाले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई सरकारमा आफू एक्लै नभएको बताएका छन्।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा रास्वपाकै सांसदहरूले सरकारको कार्यशैली र जनसरोकारका विषयमा प्रश्न उठाएपछि प्रधानमन्त्री शाहले मध्यरातमा सामाजिक सञ्जालमार्फत आफू एक्लै लडिरहेको संकेत गर्दै स्टाटस लेखेका थिए।

प्रधानमन्त्री शाहको उक्त अभिव्यक्तिको जवाफ दिँदै झाले सामाजिक सञ्जालमै सरकार परिवर्तनका लागि जनताबाट प्राप्त जनादेश कार्यान्वयन गर्ने क्रममा कोही पनि एक्लो नरहेको बताएका हुन्।

‘परिवर्तनका लागि यो महान् जनादेश पाएको सरकारमा कोही एक्लो छैन। हामी सबै साथमा छौँ,’ झाले लेखेका छन्, ‘हिजो सदनमा भनेझैँ नियत र आशयमा शङ्का छैन, तर सुधार गर्नैपर्ने केही पक्ष छन्।’

झाले संसद्मा आफूहरूले सरकारलाई अवसर खेर नफाल्न सचेत गराउँदै आएको स्मरण गराएका छन्। सरकारलाई खबरदारी गर्ने र आवश्यक सुधारका लागि ध्यानाकर्षण गराउने काम निरन्तर जारी रहने उनको भनाइ छ।

‘यो महान् ऐतिहासिक अवसर खेर नजाओस् भनेर सजग रहने र सचेत गराउने काम निरन्तर रहनेछ,’ उनले भनेका छन्, ‘जननिर्वाचित सरकार जनताको साथमा हुनुपर्छ र म सरकारको साथमा छु। यहाँ कोही एक्लो छैन।’

यसअघि शुक्रबार राति प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा ‘सही समय आउनलाई केही समय लाग्छ’ भन्दै ‘कहिलेकाहीँ एक्लै लड्नुपर्छ, यो पहिलोचोटि होइन’ भन्ने आशयको स्टाटस लेखेका थिए।

प्रधानमन्त्रीको उक्त अभिव्यक्तिपछि सत्ता पक्षकै सांसद तथा नेताहरूबाट विभिन्न प्रतिक्रिया सार्वजनिक भइरहेका छन्।

प्रकाशित मिति: २३ श्रावण २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com