काठमाडौं । मुस्लिम आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ।
राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेललाई हस्तान्तरण गरेका हुन्।
नेपालको संविधानको धारा २९४ मा संवैधानिक निकायले आफ्नो वार्षिक कामकारबाहीको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्नुपर्ने व्यवस्था छ। सोही संवैधानिक व्यवस्थाअनुसार आयोगले प्रतिवेदन बुझाएको हो।
प्रतिवेदन ग्रहण गर्दै राष्ट्रपति पौडेलले मुस्लिम समुदायको हकहित संरक्षण, सशक्तीकरण तथा राज्यका विभिन्न क्षेत्रमा सम्मानजनक सहभागिता सुनिश्चित गर्न आयोगले निर्वाह गरेको भूमिकाको प्रशंसा गरे।
उनले मुस्लिम समुदायका लागि संविधान र कानुनले सुनिश्चित गरेका अधिकार तथा व्यवस्थाको कार्यान्वयन अवस्थाबारे अध्ययन गरी सरकारलाई आवश्यक सुझाव दिन आयोगले निर्वाह गर्ने भूमिकाले सामाजिक न्याय र समान अवसर सुनिश्चित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।
राष्ट्रपति पौडेलले भने, ‘आयोगले मुस्लिम समुदायको सशक्तीकरण र सम्मानजनक सहभागिताको कार्यान्वयनमा विशेष योगदान पुर्याएको छ।’
उनले संविधानप्रदत्त अधिकारको प्रभावकारी कार्यान्वयन तथा सामाजिक न्याय सुनिश्चित गर्न आयोगबाट हुने अध्ययन र त्यसका आधारमा तयार गरिने प्रतिवेदन महत्वपूर्ण हुने बताए।
समारोहमा मुस्लिम आयोगका पदाधिकारी, राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारीलगायतको उपस्थिति रहेको थियो।
प्रकाशित मिति: २५ श्रावण २०८३, सोमबार













प्रतिक्रिया