काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले निर्वाचन प्रहरीका लागि पोसाक खरिदमा अनियमितता भएको आरोप लगाउँदै तत्काल छानबिन समिति गठन गर्न माग गरेका छन्।
बुधबार संघीय संसद्को सार्वजनिक लेखा समिति बैठकमा बोल्दै सांसद सुनारले प्रहरी महानिरीक्षक (आईजीपी) माथि नै प्रश्न उठिसकेको अवस्थामा उहाँलाई पदमै राखेर निष्पक्ष छानबिन गर्न नसकिने बताएका हुन्।
उनले तत्काल छानबिन समिति गठन गरी आरोपित व्यक्तिहरूलाई जिम्मेवारीबाट अलग राख्नुपर्ने माग गरे। तत्कालीन गृहमन्त्री, गृह सचिव र प्रहरी महानिरीक्षकलाई जिम्मेवारीबाट हटाएर निष्पक्ष रूपमा अनुसन्धान अघि बढाउनुपर्ने उनको भनाइ छ।
सुनारले प्रहरीको बर्दीमै बसेर आफूमाथि लागेको आरोपको छानबिन गर्न नमिल्ने भन्दै यस विषयमा फौजदारी अभियोगअन्तर्गत अनुसन्धान हुनुपर्ने बताए।
निर्वाचन प्रहरीको पोसाक खरिदमा भएको भनिएको अनियमितताबारे गम्भीर छानबिन गरी दोषी देखिए सम्बन्धित व्यक्तिमाथि कानुनअनुसार कारबाही गर्नुपर्नेमा उनले जोड दिए।
प्रकाशित मिति: २७ श्रावण २०८३, बुधबार













प्रतिक्रिया