धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएका छन्। प्रदेशसभामा विश्वासको मत प्राप्त गर्ने अवस्था नदेखिएपछि उनले बुधबार साँझ राजीनामा दिएका हुन्।
प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले राजीनामाको घोषणा गरेका थिए। सम्बोधनपछि उनले प्रदेश प्रमुखसमक्ष आफ्नो राजीनामा बुझाएका छन्।
गत असार ३१ गते नेकपा एमालेले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि शाह नेतृत्वको सरकार अल्पमतमा परेको थियो। संविधानअनुसार त्यसपछि मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने समयसीमा बुधबार पूरा भएको थियो।
विश्वासको मत पाउने सम्भावना नरहेपछि शाहले प्रदेशसभामा सम्बोधन गर्दै आफूले पाएको जिम्मेवारीअनुसार सरकार सञ्चालनका क्रममा काम गरेको बताए।
उनले प्रदेशलाई आवश्यक अधिकार र स्रोतसाधन उपलब्ध नगराई काम गर्न कठिनाइ रहेको उल्लेख गर्दै आफ्नो नेतृत्वमा सरकारले गरेका कामबारे प्रदेशसभालाई जानकारी गराएका थिए।
प्रदेशसभाको बैठक साँझ ५ बजेका लागि बोलाइएको भए पनि निर्धारित समयभन्दा केही ढिला गरी सुरु भएको थियो।
मुख्यमन्त्री शाहको राजीनामासँगै सुदूरपश्चिममा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने भएको छ। नयाँ सरकार गठनका लागि नेकपा र नेकपा एमालेबीच सहमति भइसकेको बताइएको छ।
दुई दलबीच भएको सहमतिअनुसार नेकपाको नेतृत्वमा प्रदेशमा नयाँ सरकार गठन गर्ने तयारी भइरहेको छ।
प्रकाशित मिति: २८ श्रावण २०८३, बिहिबार













प्रतिक्रिया