काठमाडौं। टिकटक र यसको चिनियाँ मूल कम्पनी बाइटडान्सले अमेरिकामा बालबालिकाको अनलाइन गोपनीयता उल्लङ्घनसम्बन्धी मुद्दा सल्टाउन ४० करोड अमेरिकी डलर तिर्न सहमति जनाएका छन्।
अमेरिकी न्याय विभागसँग भएको सम्झौताअनुसार टिकटकले बालबालिकाको व्यक्तिगत विवरण गैरकानुनी रूपमा सङ्कलन गरेको र उनीहरूको गोपनीयता संरक्षणमा पर्याप्त कदम नचालेको आरोपसम्बन्धी मुद्दा टुंग्याउन उक्त रकम तिर्नेछ।
अमेरिकी सरकारले सन् २०२४ मा टिकटकविरुद्ध मुद्दा दायर गर्दै १३ वर्षभन्दा कम उमेरका बालबालिकाको अभिभावकीय अनुमति बिना उनीहरूको नाम, इमेललगायत व्यक्तिगत विवरण सङ्कलन गरेको आरोप लगाएको थियो।
अमेरिकी अधिकारीहरूका अनुसार टिकटकले उमेर ढाँटेर प्रयोग गरिएका बालबालिकाका खातामाथि प्रभावकारी निगरानी गर्न र त्यस्ता खाताबारे अभिभावकबाट आएका गुनासो सम्बोधन गर्नसमेत असफल भएको थियो।
सम्झौताअनुसार टिकटकले ३० करोड डलर तत्काल भुक्तानी गर्नेछ। बाँकी १० करोड डलर भने टिकटकको पूर्ववर्ती एप ‘म्युजिकल डट एलवाई’सँग सम्बन्धित सन् २०१९ को संघीय आदेश खारेज भएपछि भुक्तानी गरिनेछ।
यो रकम बालबालिकाको अनलाइन गोपनीयता संरक्षणसम्बन्धी अमेरिकी कानुन (सीओपीपीए) अन्तर्गत भएको सबैभन्दा ठूलो जरिवानामध्येको एक हो।
मुद्दा दायर भएयता टिकटकको स्वामित्व संरचना, व्यवस्थापन र गोपनीयता नीतिमा विभिन्न परिवर्तन भइसकेका छन्। कम्पनीले बालबालिकाको उमेर पहिचान गर्न थप कडा प्रविधि प्रयोगमा ल्याइएको र त्यसक्रममा हजारौँ बालबालिकाका खाताहरू बन्द गरिएको जनाएको छ।
प्रकाशित मिति: ६ भाद्र २०८३, शनिबार













प्रतिक्रिया