काठमाडौं। रसुवामा हालै आएको विनाशकारी बाढीको स्रोत चीनतर्फको लाङटाङ लिरुङ हिमालको उत्तरी ढलानमा रहेको पाइएको भन्दै विज्ञहरूले नेपाल–चीन सीमाक्षेत्रमा संयुक्त निगरानी तथा पूर्वसूचना प्रणाली बलियो बनाउन आग्रह गरेका छन्।

चिनियाँ विज्ञान प्रतिष्ठानअन्तर्गत पर्वतीय विपद् तथा वातावरण संस्थानका अनुसन्धानकर्ता सु पेङछेङका अनुसार घटना समुद्री सतहबाट करिब ५ हजार २०० मिटर उचाइमा सुरु भएको थियो। हिउँ र चट्टान खसेर बनेको प्रवाह करिब २२ किलोमिटर तल झर्दै चीनको केरुङ बन्दरगाह क्षेत्रमा पुगेको र यो प्रक्रिया ६–७ मिनेटमै पूरा भएको उनले बताए।

विज्ञहरूका अनुसार विपद्को स्रोत क्षेत्र अत्यधिक उचाइ, चिसो र अक्सिजनको कमी भएको दुर्गम क्षेत्रमा रहेकाले प्रत्यक्ष निगरानी कठिन छ। सीमापार नदी बेसिन भएकाले एक देशमा रहेका निगरानी उपकरण र प्रणालीले सम्पूर्ण जोखिम क्षेत्र समेट्न नसक्ने अवस्था रहेको उनीहरूको भनाइ छ।

बाढीपछि नदीको धारमा ठूलो मात्रामा हिमनदीय मोरेन र गेग्रान थुप्रिएकाले नदीको बहाव अवरुद्ध भई पुनः प्राकृतिक ताल बन्ने जोखिमसमेत रहेको विज्ञहरूले बताएका छन्। ठूलो हिउँ–चट्टान खसेर नदी थुनिएमा तल्लो क्षेत्रमा रहेका उद्धारकर्मी र बस्तीसमेत थप जोखिममा पर्न सक्ने चेतावनी दिइएको छ।

विज्ञहरूले जोखिमको निगरानीका लागि उपग्रह, हवाई प्लेटफर्म र जमिनमा आधारित प्रविधिलाई एकीकृत गरी तीन तहको निगरानी प्रणाली विकास गर्न सुझाव दिएका छन्। पहिलो तहमा उपग्रहबाट ठूलो क्षेत्रको निगरानी, दोस्रोमा जोखिम पहिचान भएका क्षेत्रमा सघन निगरानी र तेस्रो तहमा तल्लो तटीय क्षेत्रका लागि तत्काल चेतावनी दिने व्यवस्था गर्नुपर्ने उनीहरूको प्रस्ताव छ।

जलवायु परिवर्तनका कारण हिमनदी तथा हिमाली क्षेत्रको अस्थिरता बढ्दै गएको भन्दै विपद्का प्रारम्भिक संकेत पहिचान गर्न थप वैज्ञानिक अनुसन्धान आवश्यक रहेको पनि विज्ञहरूले बताएका छन्।

त्यस्तै, नेपाल–चीनसहित हिमाली देशबीच नदी बेसिनस्तरमा जोखिमसम्बन्धी तथ्यांक आदानप्रदान, संयुक्त मूल्यांकन र सीमापार पूर्वसूचना संयन्त्र विकास गर्नुपर्नेमा उनीहरूले जोड दिएका छन्। विपद्को स्रोतदेखि तल्लो तटीय क्षेत्रसम्म सूचना तत्काल पुर्‍याउन सक्ने संयन्त्र विकास भए जनधनको क्षति कम गर्न सकिने विज्ञहरूको भनाइ छ।

प्रकाशित मिति: २२ भाद्र २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com