काठमाडौं। भोटेकोशी बाढी तथा त्यसपछि आएको विपद्का कारण देशभर मानवीय क्षति बढ्दै गएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सोमबार साँझसम्म १ हजार ३५६ जनाको शव फेला परेको छ भने ४ हजार ९९४ जना अझै सम्पर्कविहीन छन्।

फेला परेका शवमध्ये हालसम्म ९८ जनाको मात्रै सनाखत गरी आफन्तलाई बुझाइएको प्राधिकरणले जनाएको छ। संकलित शव तथा मानव अवशेषको पहिचानका लागि डीएनए परीक्षणको व्यवस्था गरिएको छ।

प्राधिकरणका अनुसार सबैभन्दा धेरै शव चितवनमा ३६३ वटा फेला परेका छन्। नवलपरासी पूर्वमा २२३, नवलपरासी पश्चिममा २२१, नुवाकोटमा १९७ र रसुवामा १६९ शव भेटिएका छन्। यस्तै, गोरखामा ७५, धादिङमा ७० र तनहुँमा ३८ शव संकलन गरिएको छ।

पहिचान हुन नसकेका शवका आफन्तलाई फोटो तथा नाता प्रमाणित हुने कागजातसहित सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गरी आवश्यक नमुना उपलब्ध गराउन प्राधिकरणले आग्रह गरेको छ।

विपद्मा घाइते भएका ६ हजार ६७६ जनाको उपचार गरिएको छ। विभिन्न १० अस्पतालमा भर्ना गरिएका ३२७ जनामध्ये २४२ जना उपचारपछि डिस्चार्ज भएका छन्।

यसैगरी, हालसम्म १३ हजार ३९६ जनाको सकुशल उद्धार गरिएको प्राधिकरणले जनाएको छ। खोज, उद्धार तथा राहत कार्यमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी २१ हजार ४०२ सुरक्षाकर्मी परिचालन भएका छन्।

परिचालन गरिएकामध्ये नेपाली सेनाका ९ हजार २८७, नेपाल प्रहरीका ७ हजार ९१२ र सशस्त्र प्रहरी बलका ४ हजार २०३ जना छन्।

प्रकाशित मिति: २२ भाद्र २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com