गोरखा । गोरखाको ऐतिहासिक पालुङटार नगरपालिकाको आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र सम्भावित उम्मेदवारका रूपमा गणेश अम्गाईले नगरप्रमुख पदमा आफ्नो दाबी प्रस्तुत गरेका छन्। नेपाली सेनाका पूर्व सेनानी अम्गाईले रास्वपाले सम्भावित उम्मेदवार छनोट तथा तयारीका लागि गठन गरेको ‘क्यान्डिडेट क्लब’ मा आफ्नो दाबी अघि सारेका हुन्।
अम्गाईले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो उम्मेदवारी सार्वजनिक गरेपछि पालुङटारको भावी नेतृत्व र विकासका विषयमा राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ। सैन्य सेवाको अनुभव, राजनीतिक शास्त्रको अध्ययन तथा लेखन र विश्लेषणमा सक्रियता उनको उम्मेदवारीका प्रमुख पक्षका रूपमा देखिएका छन्।
विसं २०५९ सालमा नेपाली सेनामा अधिकृतका रूपमा प्रवेश गरेका अम्गाईले करिब दुई दशक सैन्य सेवामा बिताएका थिए। विसं २०७९ सालमा सेनानी पदबाट सेवानिवृत्त भएपछि उनी राजनीतिक शास्त्रको अध्ययन, अनुसन्धान र लेखनमा सक्रिय रहँदै आएका छन्।
नेपालको आन्तरिक राजनीति, अन्तर्राष्ट्रिय सम्बन्ध, भू–राजनीति, अर्थतन्त्र, इतिहास, प्रशासन, मानवअधिकार तथा राष्ट्रिय सुरक्षाजस्ता विषयमा विश्लेषणात्मक लेखन गर्दै आएका अम्गाईले राजनीतिक र समसामयिक विषयमा आफ्नो दृष्टिकोण प्रस्तुत गर्दै आएका छन्।
उनी हाल राष्ट्रिय स्वतन्त्र पार्टीको पालुङटार–काठमाडौं सम्पर्क विभागको सभापतिको जिम्मेवारीमा समेत रहेको छन्। सैन्य सेवाबाट प्राप्त अनुभव र राजनीति शास्त्रको अध्ययनलाई स्थानीय तहको नेतृत्वमा उपयोग गर्ने उद्देश्यसहित आफू नगरप्रमुखको प्रतिस्पर्धामा अघि सरेको उनको भनाइ छ।
अम्गाईले पालुङटारको ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक मौलिकताको संरक्षण गर्दै नगरपालिकालाई व्यवस्थित, समृद्ध र आधुनिक सहरका रूपमा विकास गर्ने लक्ष्य अघि सारेका छन्।
ऐतिहासिक महत्त्व बोकेको लिगलिगकोटसहित पालुङटारका पर्यटकीय तथा सांस्कृतिक सम्पदाको प्रवर्द्धन गरी नगरपालिकालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विशिष्ट पहिचान दिलाउने उनको योजना छ। भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा विकासलाई तीव्रता दिँदै नागरिकको जीवनस्तर उकास्ने विषयलाई पनि उनले प्राथमिकतामा राखेका छन्।
सहरकेन्द्रित बसाइँसराइको बाध्यतालाई कम गर्दै आफ्नै गाउँमा स्वच्छ वातावरण, सुरक्षित जीवनशैली, आत्मसम्मान र आधुनिक सुविधासहित गुणस्तरीय जीवनयापन गर्न सक्ने अवस्था सिर्जना गर्नु आफ्नो प्रमुख उद्देश्य रहेको अम्गाईले जनाएका छन्।
नगरप्रमुखका रूपमा काम गर्ने अवसर पाए पालुङटारको विकास र सेवा प्रवाहमा ठोस परिवर्तन ल्याउने अम्गाईको प्रतिबद्धता छ। सैन्य सेवाका क्रममा सिकेको अनुशासन, जिम्मेवारीबोध, पारदर्शिता र कार्यक्षमताको उपयोग स्थानीय सरकार सञ्चालनमा गर्ने उनको भनाइ छ।
नगरपालिकाबाट नागरिकले प्राप्त गर्नुपर्ने सेवा तथा सुविधालाई सहज, छरितो र प्रभावकारी बनाउँदै सुशासनको अनुभूति गराउने उनको योजना छ। साथै, स्थानीय स्रोतसाधनको अधिकतम उपयोग, विकास निर्माणमा प्रभावकारी व्यवस्थापन र नागरिकको आवश्यकतामा आधारित योजना कार्यान्वयनमार्फत पालुङटारलाई उत्कृष्ट नमुना नगरपालिका बनाउने लक्ष्य उनले अघि सारेका छन्।
स्थानीय तहको नेतृत्वमा प्रशासनिक अनुभव, अध्ययन, कार्यक्षमता र विकासप्रतिको स्पष्ट दृष्टिकोण भएका व्यक्तिको भूमिकाबारे बहस भइरहेका बेला अम्गाईको दाबीले पालुङटारको राजनीतिक प्रतिस्पर्धामा चासो थपेको छ।
यद्यपि, ‘क्यान्डिडेट क्लब’ मा दाबी प्रस्तुत गर्नु र पार्टीबाट औपचारिक उम्मेदवारी प्राप्त गर्नु फरक विषय हुन्। रास्वपाले आगामी निर्वाचनका लागि अन्तिम उम्मेदवार कसलाई बनाउँछ भन्ने विषय पार्टीको छनोट प्रक्रियापछि स्पष्ट हुनेछ।
अम्गाईको उम्मेदवारी दाबीले पालुङटारको विकास, सुशासन र भावी नेतृत्वबारे नयाँ बहस सुरु भने गराएको छ। अब उनको योजना, राजनीतिक प्रतिबद्धता र नेतृत्व क्षमताले स्थानीय मतदातामाझ कस्तो प्रभाव पार्छ भन्ने विषय आगामी राजनीतिक प्रक्रियामा महत्त्वपूर्ण बन्ने देखिन्छ।
प्रकाशित मिति: ११ कार्तिक २०८३, मंगलबार












प्रतिक्रिया