काठमाडौं । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसीले दशैं, तिहार र छठजस्ता चाडपर्वका बेला बजारमा बढेको महँगी नियन्त्रण गर्न सरकार असफल भएको आरोप लगाएका छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै केसीले सरकार गठन भएको सात महिना बितिसक्दा पनि नागरिकको दैनिक जीवनमा अपेक्षित सुधार आउन नसकेको टिप्पणी गरेका छन्।
उनका अनुसार चाडपर्वका बेला खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिले मध्यमवर्गीय तथा विपन्न परिवारलाई थप आर्थिक भार परेको छ। बजार अनुगमन प्रभावकारी हुन नसकेको र कालोबजारी नियन्त्रणमा सरकारको भूमिका कमजोर देखिएको उनको आरोप छ।
केसीले नाममात्रको बजार अनुगमन र अत्यधिक मूल्यवृद्धिका कारण चाडपर्वको उल्लास प्रभावित भएको बताएका छन्। उनले बजार व्यवस्थापन, मूल्य नियन्त्रण र सुशासनमा नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी सुधार हुनुपर्नेमा जोड दिएका छन्।
प्रकाशित मिति: १२ कार्तिक २०८३, बुधबार












प्रतिक्रिया