काठमाडौं । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले बिचौलिया इनम सापकोटासँग आफ्नो कुनै चिनजान वा सम्पर्क नरहेको दाबी गरेका छन्। सापकोटा प्रकरणसँग आफ्नो नाम जोडेर सार्वजनिक भएका समाचार तथा प्रसङ्गमा सत्यता नरहेको भन्दै उनले प्रत्यक्ष वा परोक्ष रूपमा कुनै संलग्नता नभएको स्पष्ट पारेका हुन्।
विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश शर्माले सापकोटासँग आफ्नो कुनै किसिमको सम्बन्ध नरहेको जनाएका छन्। पछिल्लो समय सापकोटासँग जोडिएका विभिन्न संवाद र कारोबारका विवरण सार्वजनिक भइरहेका बेला उनले आफ्नो धारणा सार्वजनिक गरेका हुन्।
यसैबीच, प्रहरी हिरासतमा रहेका सापकोटाको मोबाइल विवरणबाट सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलसँगको संवाद तथा कारोबारसम्बन्धी विवरण बाहिरिएका छन्। सार्वजनिक ह्वाट्सएप संवादमा सापकोटाले एउटा मुद्दामा प्रभाव पार्ने प्रयास गरेको देखिए पनि न्यायाधीश फुयाँलले भने कानुनी आधार र प्रक्रियाअनुसार नै धरौटीमा रिहा गर्ने आदेश दिएको प्रतिक्रिया दिएका छन्।
उक्त विवादसँग जोडेर प्रधानन्यायाधीश शर्मा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद विश्वराज पोखरेलको नाममा अमेरिका तथा नेपालका बैंकमा रकम जम्मा गर्न भनिएको विवरणसमेत सञ्चारमाध्यममा सार्वजनिक भएको छ।
प्रहरीले सापकोटालाई पक्राउ गरी उनीसँग सम्पर्कमा रहेका न्यायाधीश, सुरक्षा अधिकारी तथा राजनीतिक व्यक्तिहरूबारे अनुसन्धान गरिरहेको छ। सापकोटासँग उच्च पदस्थ व्यक्तिहरूको सम्बन्धसम्बन्धी विवरण सार्वजनिक हुन थालेपछि प्रहरीले अनुसन्धानलाई थप व्यवस्थित बनाउन छुट्टै समिति गठन गरेको छ।
सापकोटामाथिको अनुसन्धानका लागि काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत प्रहरी उपरीक्षक (एसपी) नरहरि रेग्मीको नेतृत्वमा समिति गठन गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १३ कार्तिक २०८३, बिहिबार











प्रतिक्रिया