काठमाडौं । प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने गरी सरकारले अध्यादेश ल्याएको आरोप लगाउँदै नेपाल पत्रकार महासंघले आन्दोलनमा उत्रिने घोषणा गरेको छ ।
महासंघले प्रेस काउन्सिल ऐन संशोधनका लागि सरकारले ल्याएको अध्यादेश फिर्ता लिन दबाब दिँदै चरणबद्ध विरोधका कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।
महासंघकी अध्यक्ष निर्मला शर्माले सरकारले जारी गरेको प्रेस काउन्सिल अध्यादेश मिडिया क्षेत्रलाई नियन्त्रण गर्ने उद्देश्यबाट प्रेरित रहेको आरोप लगाएकी छन् ।
बिहीबार काठमाडौंमा महासंघको केन्द्रीय समितिले आयोजना गरेको ‘मिडिया काउन्सिल विधेयक : आमसञ्चार कानुन र प्रेस स्वतन्त्रताको रक्षा’ विषयक अन्तरक्रियामा बोल्दै उनले अध्यादेश कार्यान्वयनमा आए प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी संवैधानिक अधिकारसमेत प्रभावित हुने बताइन् ।
उनले अध्यादेशका विषयवस्तुमा प्रेस काउन्सिल नेपालको सुझाव लिइएको भन्ने काउन्सिलका अध्यक्ष उमेश श्रेष्ठको भनाइप्रति पनि प्रश्न उठाइन् । मिडियालाई थप नियन्त्रण गर्ने प्रावधान समेटिएको भन्दै उनले यस विषयमा पत्रकार महासंघ र प्रेस काउन्सिलबीचसमेत मतभिन्नता देखिएको बताइन् ।
समाचारको स्रोत पुष्टि गर्ने नाममा पत्रकारलाई पक्राउ गर्ने र फौजदारी मुद्दा लगाउने प्रयास भइरहेको भन्दै शर्माले त्यसविरुद्ध सञ्चार क्षेत्रका सबै संघसंस्था एकजुट हुनुपर्नेमा जोड दिइन् ।
उनले अध्यादेश फिर्ता लिएर संसद्मा पर्याप्त छलफलपछि मात्रै आमसञ्चारसम्बन्धी कानुन अघि बढाउन सरकारलाई दबाब दिनुपर्ने बताइन् ।
सरकारले अभिव्यक्ति स्वतन्त्रतामाथि नियन्त्रण गर्न खोजेको आरोप लगाउँदै उनले विपक्षी दलका नेताहरूसँग समेत यस विषयमा छलफल गर्न महासंघले पहल गरेको जानकारी दिइन् ।
अध्यक्ष शर्माले प्रेस स्वतन्त्रताको रक्षाका लागि पत्रकार महासंघले आगामी दिनमा निर्वाह गर्ने भूमिका र आन्दोलनको रणनीतिबारे सञ्चारसम्बद्ध संस्थाहरूबीच साझा धारणा बनाउनुपर्ने आवश्यकता औँल्याएकी छन् ।
प्रकाशित मिति: १९ कार्तिक २०८३, बिहिबार













प्रतिक्रिया