काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रहरी महानिरीक्षक पदबाट हटाइएका दानबहादुर कार्कीमाथि अन्याय भएको टिप्पणी गर्दै सर्वोच्च अदालतले न्याय दिने विश्वास व्यक्त गरेका छन् ।
शनिबार काठमाडौंमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले सरकारले कार्कीलाई प्रहरी महानिरीक्षक पदबाट हटाउनु अन्यायपूर्ण भएको बताए । उक्त विषय सर्वोच्च अदालतमा विचाराधीन रहेकाले अदालतबाट न्याय पाउनेमा आफू विश्वस्त रहेको उनको भनाइ थियो ।
‘आईजीपीको विषय सर्वोच्च गएको छ । मलाई विश्वास छ, आईजीपीमाथि अन्याय भएको छ । सर्वोच्चले न्याय गर्छ भन्ने मेरो विश्वास छ,’ उनले भने ।
यसैबीच, प्रचण्डले वर्तमान सरकारविरुद्ध आन्दोलन गर्ने विषयमा विभिन्न राजनीतिक दलसँग छलफल भइरहेको जानकारी दिए । नेपाली कम्युनिस्ट पार्टीले सञ्चालन गरिरहेको राष्ट्रिय जागरण अभियान सम्पन्न भएपछि त्यसको समीक्षा गरेर आगामी राजनीतिक कार्यक्रम तय गरिने उनले बताए ।
सरकारविरुद्धको आन्दोलनमा संविधान निर्माण र शान्ति प्रक्रियामा सहभागी सबै राजनीतिक शक्तिलाई एक ठाउँमा ल्याउने प्रयास भइरहेको उनको भनाइ थियो ।
‘एमालेसँग मात्र होइन, कांग्रेससँग पनि र अरूसँग पनि छलफल भइरहेको छ,’ प्रचण्डले भने, ‘हिजोको संविधान र शान्ति प्रक्रियामा सहभागी सबैलाई सकेसम्म एक ठाउँमा जोडेर जानुपर्छ भन्ने हाम्रो बुझाइ छ ।’
प्रचण्डले वर्तमान सरकारको कार्यशैलीप्रति पनि असन्तुष्टि जनाए । सरकार जनताका वास्तविक समस्या समाधान गर्नुभन्दा बाहिरी तामझाम र देखावटी गतिविधिमा रमाएको उनको टिप्पणी थियो ।
प्रकाशित मिति: २१ कार्तिक २०८३, शनिबार













प्रतिक्रिया