काठमाडौं । सत्तारुढ माओवादी केन्द्रका उपमहासचिव तथा सांसद वर्षमान पुनले सुन प्रकरणको निष्पक्ष ढंगले छानबिन हुनुपर्ने बताएका छन्।
सोमबार संसद भवनमा पत्रकारहरूसँग कुरा गर्दै पूर्वअर्थमन्त्री समेत रहेका पुनले सुन प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको र दोषी ठहरिए कारबाही भोग्न तयार रहेको बताए।
पुनले प्रधानमन्त्रीले भ्रष्टाचार र सुन तस्करीविरुद्ध चलाएको अभियान नेपाली राजनीतिलाई शुद्ध बनाउन चालिएको अभियान रहेको बताए । अनाहकमा आफूलाई जोडेको भन्दै पुनले व्यक्तिगत चरित्र हत्या गर्ने भन्दा पनि तथ्यमा पुगेर अनुसन्धान गर्नुपर्ने बताए ।
‘सम्माननीय प्रधानमन्त्री प्रचण्डको भ्रष्टाचार र सुन तस्करीविरुद्ध चलाएको अभियान नेपाली राजनितिलाई शुद्ध बनाउन चालिएको अभियान हो । यसमा मेरो पूरै समर्थन छ । मेरो कहीँ कतै संलग्नता छैन । म कतै जोडिएको छैन,’ पुनले भने ।
‘मेरो बारेमा पनि ठोस रुपले त उठेको छैन, कुन निकायले छानबिन गर्नुपर्ने हो ममाथि छानबिन गरोस्, म त्यो छानबिनका लागि तयार छु । र, म दोषी ठहरीए के सजाय भोग्नुपर्ने हो त्यसको लागि तयार छु,’ पुनले भने, ‘न्यायिक समिति, संसदीय छानबिन समिति वा प्रहरी कसबाट अनुसन्धान हुनुपर्ने हो म उभिन तयार छु ।’
प्रकाशित मिति: १५ श्रावण २०८०, सोमबार













प्रतिक्रिया