काठमाडौँ । ट्राफिक नियम उल्लंघन गर्नेहरूलाई सडकमा उभ्याउने गृहमन्त्रीस्तरीय निर्णयका बारेमा संसदीय समितिमा छलफल हुने भएको छ । प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले नियम उल्लंघन गर्नेहरूलाई स्वयंसेवकका रूपमा खटाउने निर्णयमाथि छलफल गर्ने भएको हो ।
समितिका सभापति रामहरि खतिवडाले कसैको सनकका भरमा कानुनमै नभएको कुरा लागू गर्न नहुने बताए । बिहीबार सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै सभापति खतिवडाले मन्त्रीको निर्देशनका आधारमा नागरिकको वैयत्तिक अधिकार हनन गर्न नहुने बताए ।
‘हामीले संविधान निर्माण गर्यौँ । सबै जात, धर्म र वर्गको अधिकार पनि स्थापित गरेका छौँ । कानुनी राज्यको परिकल्पना पनि गरेका छौँ । कानुनी राज्य भनेको कसैको सनकका भरमा जतिखेर जे पायो त्यही निर्णय गर्ने होइन । अहिले सडकमा केही मान्छेहरूलाई कुनै मन्त्रीको निर्देशनमा कुनै उपप्रधानमन्त्रीको निर्देशनमा बिहानदेखि बेलुका ठिंग्याएर कानुनबिना राख्ने प्रवृत्ति गलत छ,’ सभापति खतिवडाले भने ।
उनले ट्राफिक नियम उल्लंघन गर्नेलाई कानुनअनुसार मात्र कारबाही हुनुपर्ने बताए । उनले अगाडि भने, ‘मापसे गर्यो भनेर सडकमा ठिंग्याएर राख्नु मान्छेको वैयत्तिक अधिकारमाथिको हनन हो । यो बारेमा छलफल अगाडि बढाउनुपर्ने जरुरी हामीले देखेका छौँ । कानुनी राज्य भनेको राणा शासन होइन ।’
प्रकाशित मिति: १७ जेष्ठ २०८१, बिहिबार
प्रतिक्रिया