धनगढी । परराष्ट्रमन्त्री आरजु राणा देउवाले आगामी प्रधानमन्त्री आफू नभई शेरबहादुर देउवा नै बन्ने बताएकी छन्।
आज धनगढीमा आयोजित पत्रकार भेटघाटमा उनले आरजु सम्भावित प्रधानमन्त्री भन्ने हल्लालाई ‘राम्रो कल्पना’ भनेर टिप्पणी गरिन् ।
हालै प्रधानमन्त्री केपी शर्मा ओलीले महिला प्रधानमन्त्री बनाउन चाहेको सार्वजनिक अभिव्यक्ति दिएका थिए । प्रधानमन्त्री ओलीको भनाइलाई कतिपयले आरजुलक्षित ठानेका थिए ।
धनगढीमा आज पत्रकारहरुले पनि यही विषयमा जिज्ञासा राखे । त्यसको जवाफ दिने क्रममा आरजुले भनिन्, ‘प्रधानमन्त्री बन्न पहिले संसदीय दलको नेता बन्नुपर्छ । बाहिरबाट हेर्दा एउटा देखिएला तर, पार्टीभित्रै मेरो हैसियत कति छ मलाई थाहा छ । राम्रो कल्पना हो ।’
प्रधानमन्त्रीको भनाइ उहाँकै पार्टीको कोही व्यक्तिप्रति लक्षित हुन सक्ने बताइन् । तर कांग्रेसबाट भने आगामी प्रधानमन्त्री शेरबहादुर देउवा नै हुने उनले बताइन् । ‘हाम्रो पार्टीको अब अर्को प्रधानमन्त्री बन्ने भनेको शेरबहादुर देउवा जी नै हो,’ आरजुले भनिन् ।
प्रकाशित मिति: १३ भाद्र २०८१, बिहिबार
प्रतिक्रिया