काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीप्रति देशभर आकर्षण बढेको दाबी गरेका छन् ।

केन्द्रीय सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चको संयुक्त परामर्श बैठकलाई सम्बोधन गर्दै आफूहरू सातै प्रदेश पुगेर फर्केको र पछिल्लो समय मोरङ, सुनसरी र झापाका विभिन्न कार्यक्रममा जाँदा पार्टीप्रति जनआकर्षण बढ्दै गएको पाएको दाबी गरे ।

उनले भने, ‘अरूबेला सरकार छाडेपछि कार्यकर्ता र समर्थकमा निराशाजस्ता देखिन्थ्यो तर अहिले भने सबैतिर उत्साह देखिएको छ । हामीलाई राम्रो काम गर्दागर्दै भ्रष्ट, माफिया र दलालहरूले हटाएको जनताले बुझ्दै गएका छन्, सरकारका पछिल्ला एकपछि अर्को विवादित कामले अझ बढी जनताले देशका लागि केही गर्ने त माओवादी नै रहेछ भन्ने बुझ्न थालेका छन् । यसलाई अवसरमा बदलेर अघि बढ्नुपर्छ ।’

पार्टीलाई थप सुदृढ र एकताबद्ध बनाउनुको विकल्प नभएको उल्लेख गर्दै अध्यक्ष ‘प्रचण्ड’ले केन्द्रीय समिति बैठकबाट संगठन सुदृढीकरण र जनपरिचालनका कार्यक्रम बनाएर जाने बताए । बैठकमा पार्टीका केन्द्रीय पदाधिकारीका साथै केन्द्रीय सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको छ ।

प्रकाशित मिति: २ आश्विन २०८१, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com