काठमाडौं । संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति समेत रहेका पुर्व गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेपछि कांग्रेस उपसभापति धनराज गुरुङ र एमाले नेता ऋषिकेश पोखरेल लगायतलाई पनि अनुसन्धानको दायरामा ल्याउन दबाब बढेको छ ।
रविलाई लाग्ने कानुन धनराज गुरुङ र ऋषिकेश पोखरेल लगायतलाई पनि लगाउनुपर्ने भन्दै चौतर्फी दबाब बढेको हो ।
रास्वपाको केन्द्रिय कार्यालय काठमाडौंबाट शुक्रबार पक्राउ परेका लामिछानेलाई पोखरा लगेर अदालतबाट ६ दिनको म्याद पाएर अनुसन्धान भइरहेको छ । उनीमाथि सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दामा अनुसन्धान भइरहँदा सत्तारुढ दलका नेताहरूले उन्मुक्ति पाएपछि पूर्वाग्रह भन्दै चर्को आलोचना भईरहेको छ ।
यसैले पनि आफ्ना नेताहरू जोगाएर लामिछाने पक्राउ गरिएको भन्दै रास्वपाले राजनीतिक प्रतिशोध भनेको छ । विपक्षी दलहरूले समेत यसबारे विज्ञप्ति निकाल्ने तयारी गरेका छन् ।
नागरिक समाजले पनि सबैलाई अनुसन्धानमा तान्नुपर्ने भन्दै सरकारको आलोचना गरेको छन् । यसकारण अहिले कानुनी दायरामा नल्याइएका नेताहरूमाथि पनि छानबिन थाल्न दबाब बढेको देखिन्छ।
सूर्यदर्शन सहकारीबाट गोर्खा मिडियामा कर्जा प्रवाह भएको र उक्त मिडियाको सञ्चालक छँदा लामिछानेले सो रकम परिचालन गरेको आधारमा रविलाई पक्राउ गरिएको हो ।
उता सरकारले भने छानबिन समितिको प्रतिवेदन बल्ल कार्यान्वयन सुरु भएको र अरू पनि पक्राउ पर्ने दाबी गरेको छ ।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आइतबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री पृथ्बीसुब्बा गुरुङले संसदीय समितिको प्रतिवेदन मन्त्रिपरिषद्ले स्वीकार गरेको दाबी गरे ।
उनले भने, ‘त्यो प्रतिवेदनले औँल्याएका व्यक्तिहरूलाई अनुसन्धानमा लिने क्रम सुरु भएको मात्र हो । जोजो व्यक्ति तोकिएको छ, सबैमाथि (छानबिन) हुन्छ ।’
एमाले सांसद सूर्य थापा नेतृत्वको सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय छानबिन विशेष समितिले रवि लामिछानेले गोर्खा मिडियामा आएको रकम चेक काटेर खर्च गरेकोले रविमाथी छानबिन हुनुपर्ने निष्कर्ष निकालेको थियो ।
तर, सोही समितिले सहकारी ठगीमा प्रत्यक्ष जोडिएको भन्दै अनुसन्धान गरी कारबाही गर्न निर्देशन दिएका कांग्रेस उपसभापतिसमेत रहेका सांसद धनराज गुरुङले भने अहिलेसम्म उन्मुक्ति पाउँदै आएपछि सरकारको निष्पक्षमा प्रश्न उठेको छ।
त्यसैगरी, ऋषिकेस पोखरेल र उनकी पत्नी अञ्जला कोइरालाको नेतृत्वमा उमागौरी कृषि सहकारीले १४ करोड ५६ लाख हिनामिना गरेको भन्दै प्रदेश सहकारी रजिस्ट्रार कार्यालयमा उजुरी परेको छ । तर, सत्ताको दबाबमा अञ्जलाको नाम काटेर मात्रै रजिस्ट्रार कार्यालयले उजुरी प्रहरीकहाँ पठाएको देखिन्छ ।
प्रकाशित मिति: ४ कार्तिक २०८१, आइतबार
प्रतिक्रिया