काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन अनन्तले पूर्वराजा ज्ञानेन्द्र शाहलाई चेतावनी दिँदै केही राजावादीको उक्साहटमा नअल्मलिन सुझाव दिएका छन्।

शुक्रबार रोल्पा नगरपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन समारोहमा बोल्दै पुनले नेपालमा राजतन्त्र फर्किने कुनै सम्भावना नरहेको प्रस्ट पारे। उनले भने, “जनताका छोराछोरी राष्ट्रपति बन्ने व्यवस्थाको सट्टा जन्मकै आधारमा शासन गर्ने प्रणालीमा फर्कन कोही पनि चाहँदैन।”

advertisement

उनले केही राजावादीहरूले पुनः राजतन्त्र ल्याउने कुरा गरिरहेकोप्रति आश्चर्य व्यक्त गरे। “अढाई सय वर्षसम्म कायम रहेको वंशानुगत राजतन्त्रलाई फर्काउने कुरा गर्नेहरूसँग कुनै वैचारिक आधार छैन। जनता अब आफ्ना छोराछोरी राष्ट्रपति बन्ने व्यवस्था छोडेर राजतन्त्रको अन्धकारमा फर्कन चाहँदैनन्।” पुनले प्रस्ट्याए।

पुनका अनुसार गणतन्त्र भनेको जनताको मतबाट पाँच वर्षका लागि राष्ट्रपति चयन गर्ने लोकतान्त्रिक प्रक्रिया हो। यदि कुनै राष्ट्रपति जनताले नपसन्द गरे भने अर्को चुनावमा फेर्न सकिने सुविधा गणतन्त्रमा छ, तर राजतन्त्रमा जन्मकै आधारमा सत्ताको अधिकार सुरक्षित हुन्छ। “राजावादीहरू राजतन्त्र ल्याउने कुरा गरेर रमाइलो गरिरहेका छन्, तर यो सम्भव छैन,” उनले थपे।

पुनले सामन्ती सोच राख्ने राजतन्त्रवादीहरू र निरर्थक लोकप्रियतावादी प्रवृत्तिको नेपालमा कुनै राजनीतिक भविष्य नरहेको दाबी गरे। उनले सम्झाए कि मुलुकको आवश्यकता र जनताको आकांक्षाअनुसार संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरिएको हो। “संविधान र कानुनभन्दा माथि कुनै राजा-महाराजा हुँदैनन्, सारा अधिकारको केन्द्र जनता नै हुन्,” पुनले दोहोर्‍याए।

प्रकाशित मिति: २३ फाल्गुन २०८१, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com