काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेको पक्षमा सञ्चालित हस्ताक्षर संकलन अभियानका लागि ५५ लाख रुपैयाँभन्दा बढी चन्दा संकलन गरेको छ ।
पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत रहेका लामिछानेको समर्थनमा ‘राज्यद्वारा प्रतिशोध’को आरोपसहित सुरु गरिएको हस्ताक्षर अभियानलाई सञ्चालन गर्न आवश्यक खर्च जुटाउन चन्दा संकलन गरिएको रास्वपाले जनाएको छ।
पार्टी सभापतिको सचिवालय सदस्य प्रमोद न्यौपानेका अनुसार अहिले सम्म ५५ लाख १३ हजार २०७ रुपैयाँ सहयोग संकलन भइसकेको छ। “हामीले आमसार्वजनिक र समर्थकहरूलाई स्वतःस्फूर्त रूपमा योगदान गर्न आह्वान गरेका थियौं,” उनले भने, “त्यसअनुसार उल्लेख्य रकम संकलन भएको हो।”
लामिछाने थुनामा पुगेपछि त्यसलाई ‘राजनीतिक प्रतिशोध’को रूपमा व्याख्या गर्दै रास्वपाले गत असार ७ गते— पार्टीको तेस्रो स्थापना दिवसको अवसरमा हस्ताक्षर संकलन अभियान सुरु गरेको हो। अभियान जारी रहँदा चन्दा संकलन पनि खुला रूपमा गरिएको पार्टी स्रोतले बताएको छ।
पार्टीले यस अभियानमार्फत लामिछानेप्रति जनसमर्थन अभिव्यक्त गर्नुका साथै सरकारप्रतिको असहमति प्रकट गर्ने उद्देश्य राखेको जनाएको छ।
प्रकाशित मिति: ८ श्रावण २०८२, बिहिबार













प्रतिक्रिया